फाइल तस्वीर


काठमाडौँ— निजी क्षेत्रको माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षमा करिब पौने दुई अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवमा बैंकले १ अर्ब ८५ करोड ११ लाख ५६ हजार रुपैयाँ खुद नाफा कमाउन सफल भएको हो ।


बैंकले गत आर्थिक वर्ष २०७९/८० को चौंथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको प्रतिवेदनमा यस्तो नाफा आर्जन गरेको देखिएको छ । माछापुच्छ्रे बैंकले अघिल्लो आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्मको तुलनामा आ.व २०७९/८० मा ९ दशमलव ७५ प्रतिशतले बढी हो । अघिल्लो आ.व.को सोही अवधिमा भने उक्त बैंकले १ अर्ब ६८ करोड ६६ लाख ५५ हजार रुपैयाँ नाफा कमाएको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि वृद्धि भएको छ, जसले खुद नाफा आर्जनमा समेत बृद्धि भएको छ । बैंकको वित्तीय विवरण अनुसार खुद ब्याज आम्दानी दोहोरो अङ्कमा वृद्धि भएको देखिन्छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १० दशमलव ४३ प्रतिशतले वृद्धि भई ५ अर्ब ३८ करोड ६६ लाख ८५ हजार रुपैयाँ पुगेको छ । सोही अवधिमा बैंकको सञ्चालन नाफा पनि ९ दशमलव ९१ प्रतिशतले वृद्धि भई २ अर्ब ६९ करोड ८३ लाख ३५ हजार रुपैयाँ पुगेको छ ।

बैंकको वितरण योग्य नाफा २ दशमलव ६२ गुणाले वृद्धि भएको छ । अघिल्लो आवको तुलनामा बैंकको वितरणयोग्य नाफा १६२ दशमलव ६६ प्रतिशतले वृद्धि भई १ अर्ब ५६ करोड ७६ लाख ४४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवमा भने बैंकको यस्तो नाफा ५९ करोड ७२ लाख ४४ हजार रुपैयाँ मात्रै रहेको थियो । यसका आधारमा बैंकले आफ्ना सेयधनीहरुलाई १५ दशमलव २९ प्रतिशत लाभांश दिने क्षमता बनाएको छ । हाल बैंकको चुक्तापुँजी १० अर्ब २५ करोड ७१ लाख ५५ हजार रुपैयाँ रहेको छ । बैंकले जगेडा तथा कोषमा भने ६ अर्ब ६ करोड ४८ लाख ५४ हजार रुपैयाँ राखेको छ ।

समिक्षा अवधिमा बैंकले १ खर्ब ५४ अर्ब १७ करोड ९६ लाख ३१ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ । यता, १ खर्ब २६ अर्ब ४६ करोड ५९ लाख १० हजार रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो आवको तुलनामा निक्षेप ६ दशमलव ३१ प्रतिशतले वृद्धि भएको छ भने कर्जा लगानी सामान्य घटेको छ । बैंकको खराब कर्जा भने २ दशमलव १२ प्रतिशत पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी(इपिएस) पनि १ रुपैयाँ ६० पैसाले वृद्धि भई १८ रुपैयाँ ५ पेसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १५९ रुपैयाँ १० पैसा कायम भएको छ ।

बैंकले सञ्चालन खर्चमा आएको वृद्धिलाई नियन्त्रण गर्दै दीर्घकालिन व्यावसायिक योजना अनुरुप नै अगाडि बढ्ने जनाएको छ । आगामी दिनमा गुणस्तरीय कर्जा प्रवाह, खुद ब्याज आम्दानीमा वृद्धि गरी सेवाग्राही र ग्राहक एमंव सेयरधनीको हित र उच्च प्रतिफलसहितको कार्य गर्ने योजना बनाएको जनाएको छ ।