फाइल तस्वीर
भादगाउँ — भक्तपुर नगरपालिकाले किसानलाई धानबालीमा लाग्ने रोग, कीरा व्यवस्थापन तथा समसामयिक विषयमा जानकारी दिने उद्देश्यले अगुवा कृषक भेलाको आयोजना गरेको छ । धानबालीमा लाग्ने रोग र कीरा नियन्त्रणका विषयमा वडास्तरमा प्रशिक्षण सञ्चालन गरी किसानलाई सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले सो भेलाको आयोजना गरिएको नगरपालिकाले जनाएको छ ।

भेलालाई सम्बोधन गर्दै नगरप्रमुख सुनिल प्रजापतिले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले किसानसँग जोडिएका कुनै पनि काम गर्न नसकेको बताउनुभयो । उहाँले नार्कका कृषि वैज्ञानिकहरूलाई नयाँ–नयाँ अनुसन्धानमा क्रियाशील बनाउनुपर्ने र कृषि प्राविधिकहरू उत्पादन गर्नेतर्फ सरकारले जोड दिनुपर्ने बताउनुभयो ।

भक्तपुर नगरपालिकाले माटो परीक्षण गर्ने प्र्रयोगशाला निर्माणमा जोड दिने बताउँदै नगरप्रमुख प्रजापतिले नेपाललाई आत्मनिर्भर बनाउन कृषि अर्थतन्त्रलाई बलियो बनाउनुपर्नेमा पनि उहाँले जोड दिनुभयो । भक्तपुर नगरपालिका–३ का वडाध्यक्ष राजकृष्ण गोराले किसानलाई रोग नियन्त्रणका उपायबारे सजग बनाउन सकिएमा खाद्यान्न उत्पादनमा वृद्धि हुने भएको नपाले यस्ता कृषि भेलाजस्ता कार्यक्रम गर्दै आएको जानकारी दिनुभयो ।

नेपाल क्रान्तिकारी किसान सङ्घका उपाध्यक्ष गोविन्द दुवालले नेपालले कृषि प्राविधिकहरूको उत्पादनमा जोड दिनुपर्ने बताउँदै धानबालीमा लाग्ने रोगबारे किसान समयमै सचेत हुनसकेमा भविष्यमा नोक्सानीबाट बच्ने बताउनुभयो ।

भक्तपुरका कृषकको सहभागिता रहेको सो भेलामा कृषि अधिकृत रवि ख्याजुले धानबालीमा लाग्ने विभिन्न रोगको प्रकोप र त्यसको नियन्त्रणका उपायबारे जानकारी गराउनुभएको थियो ।