फाइल तस्वीर
काठमाडौं —नेपालको सामाजिक आर्थिक विकासमा अमेरिकी सहयोग नियोग (युएसएआइडी) महत्वपूर्ण साझेदार भएको छ । नेपालको पर्यटन प्रवद्र्धनका लागि युएसएआइडी र नेपाल पर्यटन बोर्डको संयुक्त प्रयासमा तयार पारिएको नेपालको पर्यटन प्रवद्र्धनसम्बन्धी श्रव्यदृश्य सामग्रीको आज वाशिङ्गटन डिसीमा शुभारम्भ गर्दै नेपालका राजदूत श्रीधर खत्रीले यस्तो धारणा व्यक्त गर्नुभएको हो ।
अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्रीले नेपालको प्राकृतिक सम्पदाको प्रचुरता र नेपाली संस्कृतिको विविधताले विश्व समुदायमा सदैव प्रशंसनीय भूमिका निर्वाह गरेको बताउनुहुँदै नेपालको सामाजिक आर्थिक विकासमा युएसएआइडी महत्वपूर्ण साझेदार रहेको उल्लेख गर्नुभयो ।
नेपालको प्रजातान्त्रिक प्रक्रिया र आर्थिक सुदृढीकरणले बाह्य लगानीका लागि ढोका खुला गरेको उल्लेख गर्दै राजदूत खत्रीले ऊर्जा, पर्यटन, कृषि र सूचना प्रविधि क्षेत्रमा लगानी गर्र्नुपर्नेमा विशेष जोड दिनुभयो ।
कार्यक्रममा युएसएआइडीकी उपसहायक निर्देशक अञ्जली कौरले युएसएआइडीले नेपालको विकासका लागि प्राथमिकतामा राखेका क्षेत्र कृषि, पर्यटन र सूचना प्रविधि भएको उल्लेख गर्दै युएसएआइडीले नेपालको पर्यटन बोर्डसँग मिलेर पर्यटन प्रवद्र्धनका लागि सहकार्य गर्न पाएकामा हामी खुसी छौँ । आगामी दिनमा युएसएआइडीले नेपालको विकासका लागि सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
अमेरिकी टिभी च्यानल पिविएसले नेपालको पर्यटन प्रवद्र्धनसम्बन्धी श्रव्यदृश्य सामग्री पाँच शृङ्खला तयार पारेर विभिन्न ठाउँमा प्रसारण गर्ने छ । पिविएस च्यानलका कार्यक्रम प्रस्तोता तथा कार्यकारी निर्माता डेनिस व्होले तयार पार्नुभएको उक्त सामग्री अन्यत्र पनि प्रदर्शन गरिनेछ । कार्यक्रममा नेपालका लागि अमेरिकाका पूर्वराजदूत पिटर वोडे, एनआरएनका अध्यक्ष डा अर्जुन वञ्जाडे, दूतावासका अधिकारीलगायतको सहभागिता थियो ।