फाइल तस्वीर
काठमाडौं—नेपालको पहिलो र एसियाको दोस्रो जलविद्युत् आयोजना फर्पिङ जलविद्युत् केन्द्रलाई उर्जा सङ्ग्रहालयका रुपमा विकास गरिने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले पाँच सय किलोवाट जडित क्षमताको फर्पिङ जलविद्युत्लाई उर्जा सङ्ग्रहालय बनाउने भएको हो । यसका लागि प्राधिकरणले केन्द्रलाई पर्यटकीयस्थलका रुपमा विकास गर्न एनइए इञ्जिनियरिङ कम्पनीलाई परामर्शदाता नियुक्त गरी गुरुयोजना तयार गरिरहेको छ । ऐतिहासिक जलविद्यत् केन्द्रलाई पर्यटनसँग जोडेर पुराना संरचनाको जीर्णोद्धार र खाली रहेको जग्गामा नयाँ संरचना निर्माण गरिने प्राधिकरणको भनाइ छ ।

काठमाडौँको दक्षिणकाली नगरपालिकास्थित केन्द्रको जलाशय र विद्युत्गृह क्षेत्रमा रहेको जग्गामा हरियाली पार्क, रेस्टुराँ, पसल, जीप लाइन, पिकनिक स्पट, पुस्तकालय, बालउद्यानलगायतका संरचना निर्माण गरिने छन् । जलविद्युत् केन्द्रका संरचनालाई जीर्णोद्वार गरी सङ्ग्रहालयको रुपमा विकास गर्ने योजना छ । परामर्शदाताले तयार पारेको गुरुयोजना कार्यान्वयनका लागि करिब रु एक अर्ब लाग्ने अनुमान गरिएको छ ।

केन्द्रको स्वामित्वमा तीन सय २४ रोपनी जग्गा छ । पर्यटकीय संरचना निर्माणका लागि जलाशय क्षेत्रको ४६ रोपनी र विद्युत्गृह क्षेत्रको करिब एक सय ४६ रोपनी जग्गा प्रयोग गरिने छ ।

प्राधिकरणको ३८औँ वार्षिकोत्सवमा फर्पिङ जलविद्युत् केन्द्रको परिसरमा सोमबार आयोजित वृक्षरोपण कार्यक्रममा सहभागी हुन पुग्नुभएका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतलाई गुरुयोजनाका विषयमा जानकारी दिइएको थियो । मन्त्री बस्नेत, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतले केन्द्रको विद्युतृगृहलगायतका संरचाको अवस्थाका बारेमा अवलोकन गर्नुभएको थियो ।

मन्त्री बस्नेतले ऐतिहासिक महत्व बोकेको विद्युत् केन्द्रलाई संरक्षण गरी जलविद्युत् क्षेत्रका अध्येता, अनुसन्धानकर्ता तथा चासो राख्ने सबैलाई सन्दर्भस्थान र इतिहासलाई बुझ्ने बुझाउने ठाउँका रुपमा विकास गरिनु पर्ने बताउनुभयो ।

उहाँले केन्द्रबाट स्थानीय बासिन्दाको सामाजिक आर्थिक वृद्धि हुने गरी योजना तथा कार्यक्रम कार्यान्वयनमा ल्याइनुपर्नेमा जोड दिनुभयो । ऊर्जा सचिव घिमिरेले केन्द्रलाई जलविद्युत् क्षेत्रको अध्ययनस्थल र त्यहाँ भएको प्राकृतिक सौन्र्दयलाई प्रयोग गर्दै सुन्दर पर्यटकीयस्थलको रुपमा विकास गरिनुपर्ने बताउनुभयो ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले परामर्शदाताको प्रतिवेदन आएपछि केन्द्रलाई ऊर्जा सङ्ग्रहालय, अनुसन्धान केन्द्र र पर्यटकीयस्थलको रुपमा विकासका कार्य अगाडि बढाइने उल्लेख गर्नुभयो । फर्पिङ जलविद्युत् केन्द १९६८ जेठ ९ गतेबाट औपचारिक रुपमा सञ्चालनमा आएको थियो । तत्कालीन राजा पृथ्वीवीरविक्रम शाहबाट टुँडिखेलमा बत्ती बालेर उद्घाटन भएको उक्त जलविद्युत् केन्द्रबाट राजपरिवार, राणापरिवारलगायत विद्युत् वितरण गरिएको थियो ।

राणा प्रधानमन्त्री चन्द्रशमशेरको शासनकालमा निर्माण भएकाले केन्द्रको नाम चन्द्रज्योति राखिएको थियो । करिब चार वर्षलगाएर निर्माण गरिएको आयोजनाको लागत रु सात लाख १३ हजार थियो ।

केन्द्र २०३८ सालसम्म निरन्तर सञ्चालनमा थियो । तर त्यसपछि ललितपुरका विभिन्न क्षेत्रमा खानेपानी आपूर्तिका लागि जलाशयको पानी, टर्बाइनमा प्रवेश नगराई प्रयोग गर्न थालेपछि विद्युतगृहको सञ्चालन बन्द भएको थियो । केन्द्रको मर्मतसम्भार गरी पुनः २०६३ पुसबाट आवश्यक पर्दा सञ्चालन गर्न सकिने गरी चालु हालतमा राखिएको छ ।