फाइल तस्वीरः उपराष्ट्रपति रामसहायप्रसाद यादव ।


जलेश्वर — उपराष्ट्रपति रामसहाय प्रसाद यादव मटिहानी जाने हुनुभएका छन् । मटिहानी नगरपालिकाको वडा नं. ७ स्थित तस्मैया बाबा पार्कमा निर्माण गरिएको ११० फिट अग्लो राष्ट्रिय झण्डा उद्घाटन गर्नको लागि उपराष्ट्रपति यादव त्यसतर्फ जान लाग्नुभएको हो ।

भोलि साउन १६ गते मङ्गलबार बिहान १० बजे मटिहानी जानुहुने उपराष्ट्रपति यादवले पार्कमा निर्माण गरिएको झण्डाको उद्घाटन गरेपश्चात् उहाँलाई नागरिक अभिनन्दन समेत गर्ने कार्यक्रम रहेको मटिहानी नगरपालिका प्रमुख हरिप्रसाद मण्डलले बताउनुभएको छ ।

उपराष्ट्रपति यादवले मटिहानी भ्रमणको क्रममा पौराणिक एवं धार्मिक लक्ष्मीनारायण मन्दिरमा पूजापाठ गर्नुका साथै तस्मैया बाबाको दर्शन गर्नुहुनेछ भने लक्ष्मी सागर पोखरीमा भगवान् लक्ष्मीनारायणको आरती गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

यसैगरी उपराष्ट्रपति यादवले नेपालकै जेठो राजकीय संस्कृत माध्यमिक विद्यालयको निरीक्षण अवलोकन गर्नुका साथै पिर बाबा मजारको पनि दर्शन अवलोकन गर्नुहुने कार्यक्रम रहेको जनाइएको छ ।