प्रतिकात्मक तस्वीर
कञ्चनपुर — कैलालीमा ट्याक्टरको ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको छ । आइतबार बेलुका जिल्लाको गोदावरी नगरपालिका–३ स्थित चौकीडाँडामा ट्याक्टरले ठक्कर दिएर गम्भीर घाइते भएका कपिल कठायतको राति मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा कठायतको मृत्यु भएको हो । कठायत कञ्चनपुरको वाणीस्थित प्रहरीको विशेष सुुरक्षा गणमा प्रहरी जवान पदमा कार्यरत थिए ।

दुर्घटनामा अर्का एक प्रहरी जवान घाइते भएका छन् । मोटरसाइकलमै सवार प्रहरी जवान हेमराज दाउका गम्भीर घाइते भएका उनको माया मेट्रो अस्पतालमा आईसीयूमा उपचार भइरहेको प्रहरीले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ गइरहेको सुपप्र ०१ ००२ त ६४१९ नम्बरको ट्याक्टरले पश्चिमतर्फ आइरहेको सुपप्र ०१०११ प ७३२० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

गम्भीर घाइते दाउका प्रहरी तालिम केन्द्र दिपायलमा कार्यरत प्रहरी जवान हुन् । वाणीस्थित विशेष सुरक्षामा कार्यरत श्रीमतीलाई भेट्न त्यही गणमै कार्यरत प्रहरी जवान कठायतसँगै आइरहेका थिए ।

कार्यालय फर्किरहेका कठायत बाटोमै दुर्घटनामा परेका हुन् । श्रीमती भेट्न गएका अर्का प्रहरी जवान दाउका अस्पतालको शय्यामा पुगेका छन् । प्रहरीका अनुसार ट्याक्टर धनीलाई बोलाएर सोधपुछ गर्ने काम भइरहेको छ । ट्याक्टर चालक फरार रहेका छन् ।