फाइल तस्वीर
जनकपुरधाम — लामो समयदेखि पुूर्णता पाउन नसकेको मधेस प्रदेशमा सरकार विस्तार हुने भएको छ । उक्त प्रदेशमा भोलि सोमबार सरकार विस्तार गर्न लागिएको हो ।


सरकारलाई पूर्णता दिन मुख्यमन्त्री सरोजकुमार यादव दलहरुसँग छलफल गर्नुभएको छ । सरकारका प्रवक्ता एवम् अर्थमन्त्री सञ्जयकुमार यादवका अनुसार भोलि सोमबारसम्म सरकार विस्तार हुनेछ ।

गठबन्धनको सरकारमा मधेस प्रदेशमा १० वटा मन्त्रालय छन् । जसमध्ये सरकारमा नेपाली काङ्ग्रेसका दुई, जसपाका दुई, जनमत, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीका एक÷एक जना मन्त्री छन् । मुख्यमन्त्री राउतले अहिलेसम्म गृह, सञ्चार तथा कानुन मन्त्रालय र श्रम तथा यातायात मन्त्रालय आफ्नै मातहतमा राख्नुभएको छ ।

सरकारमा जसपाका सुरिता कुमारी साह र जनमतका वसन्त कुशवाहालाई अहिलेसम्म कुनै मन्त्रालयको जिम्मेवारी दिइएको छैन । प्रदेश सरकारले चौथो पटक मन्त्रिपरिषद् विस्तार गर्दा उनीहरुलाई बिना विभागीय बनाइएको थियो ।

भोलि विस्तारहुने मन्त्रिपरिषद्मा बिना विभागीय मन्त्री सुरिताकुमारी साह, राज्यमन्त्री शेख अबुल कलाम आजाद र जनमतका संजयकुमार यादवलाई जिम्मेवारी दिइनेछ । यता विना विभागीय मन्त्री बसन्त कुशवाहालाई सरकारबाट हटाइने सम्भावना रहेको छ ।

जनता समाजवादी पार्टीका प्रदेश अध्यक्ष रामबाबु यादवका अनुसार जसपाका बिना विभागीय मन्त्री सुरिताकुमारी साहलाई श्रम तथा यातायात मन्त्रीको जिम्मेवारी दिइने भएको छ भने शेख अवुल कलाम आजादलाई सोही मन्त्रालयको राज्यमन्त्रीमा राखिने बताइएको छ ।

यसैगरी जनमत पार्टीबाट विना विभागीय राज्यमन्त्री भएका सञ्जयकुमार यादवलाई शिक्षा तथा समाज कल्याण राज्यमन्त्रीको जिम्मेवारीमा राखिने भएको छ ।
गृह, सञ्चार तथा कानुन मन्त्रालयको जिम्मेवारी नेपाली काङग्रेसका मोहम्मद समिमलाई दिने तयारी छ । सरकारले १० वटा मन्त्रालयलाई नै कायम राखेर सरकारलाई पूर्णता दिने गृहकार्यमा जुटेको छ ।

जनमतले सभामुख हटाउन सहयोग गरे यता काङ्ग्रेसको भागमा रहेको गृह, सञ्चार तथा कानुन मन्त्रालय जनमतलाई दिन काङग्रेस तयार रहेको बुझिन्छ । यदि त्यसोभएमा बिना विभागीय मन्त्री कुशवाहा सोही हैसियतमा सरकारमा रहन सक्ने बलियो सम्भावना छ । काङ्ग्रेस मधेश प्रदेशको सभामुख हटाउने पक्षमा देखिएको छ ।