फाइल तस्वीर
काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै निमित्त प्रमुख प्रशासकीय अधिकृत ललितजङ्ग मल्लसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । मुगु जिल्लाको छायानाथ रारा नगरपालिका, वडा नं. २ मा पार्क निर्माण गर्दा अनियमितता गरेको आरोपमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मल्लसहित सात जनाविरुद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

भ्रष्टाचारविरुद्ध मुद्दा दायर गरिएका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मल्ल, तत्कालीन इन्जिनियर महेश सिंह कठायत, तत्कालीन असिस्टेन्ट सव–इन्जिनियर हस्तबहादुर मल्ल, तत्कालीन लेखापाल रुनबहादुर सेजुवाल र कम्प्युटर अपरेटर केशरबहादुर रावल रहेका छन् । सोही प्रकरणमा त्यहाँको उपभोक्ता समितिका अध्यक्ष विष्णुबहादुर रावल र कोषाध्यक्ष वसन्ती रावलमाथि पनि अख्तियारले मुद्दा दायर गरेको छ ।

निमित्त प्रमुख प्र्रशासकीय अधिकृतसहित उनीहरुले जिल्ला वन कार्यालयको स्वामित्वमा रहेका कार्यालय कम्पाउण्डभित्रको जग्गामा पार्क निर्माण गर्ने अनुमतिसमेत नलिई पार्क निर्माणस्थलको टुङ्गो नलगाई पार्क निर्माणको डिजाइन, नक्सा र लागत अनुमान तयार गर्न लगाई स्वीकृत गरी पार्क निर्माणको लागि उपभोक्ता समितिलाई ३८ लाख ४७ हजार पाँचसय रुपैयाँ पेश्की उपलब्ध गराएर भ्रष्टाचार गरेको उनीहरुमाथि आरोप छ । अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसुर गरेको दावी छ ।