फाइल तस्वीर


मनिला — फिलिपिन्समा डुङ्गा दुर्घटना भएको छ । क्षमताभन्दा धेरै यात्रु बोकेको एउटा डुङ्गा फिलिपिन्सको राजधानी मनिला नजिक रहेको एउटा तालमा दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा परी ३० जनाको मृत्यु भएको छ भने ४० जनाको उद्धार गरिएको समाचारमा जनाइएको छ । बयालीस जना यात्रु बोक्ने क्षमताको उक्त डुङ्गामा ७० जना सवार रहेकोले अत्यधिक भारका कारण दुर्घटना भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेका छन् ।

उक्त तालमा हुरी चलेको र हुरीबाट त्रसित अधिकाङ्श यात्रुहरु डुङ्गाको एकैभागमा थुप्रिन पुग्दा डुङ्गाको सन्तुलन बिग्रेर दुर्घटना भएको फिलिपिन्सका तटरक्षकले बताएका छन् । डुङ्गामा अन्य यात्रुहरुसमेत रहेका आशङ्का गरिएको छ ।

फिलिपिन्सको बिनगोनान नगरपालिकाको बन्दरगाहबाट लागुना तालमा रहेको टापुतर्फ गइरहेको उक्त डुङ्गा हिजो बिहीबार अपराह्नको समयमा उक्त दुर्घटनामा परेको थियो । सात सयभन्दा बढी टापु भएको फिलिपिन्समा जल यातायात सुरक्षा नियम पालना नहुँदा हरेक वर्ष सयांै नागरिकले अकालमै ज्यान गुमाउने गरेका छन् ।