फाइल तस्वीर
काठमाडौं — अभिनेत्री मल्लिका महत र अनुज गुरुङ फेरि एकसाथ नयाँ म्युजिक भिडियोको अभिनयमा देखिनुभएको छ । ‘पियार’ बोलको म्युजिक भिडियोमा उहाँहरु एकसाथ देखापर्नुभएको हो ।

युवा पुस्ताका दुई गायक गायिका जनक ताम्राकार र निखिता थापाको यस गीतमा युगल गायन रहेको छ । ‘मै छु नि तिम्रो पियार सान्नानी’, ‘सलल पानी यो जिन्दगानी, बगेर जाने छ एक दिन त’, ‘आगो है लाग्यो मधु र वन’, ‘केलाई खोज्नु सुन र चाँदी, मै छु नि तिम्रो पियार सान्नानी’, ‘रेशम, रेशम, रेशमी केश, चन्द्रमा तिम्रो मुहार’ लगायत बोलका गीत म्युजिक भिडियोमा समावेश गरिएको छ ।

हृदयस्पर्शी यस गीतमा शब्द र सङ्गीत महेश ताम्राकारको रहेको छ भने प्रसन परियारको सङ्गीत संयोजन रहेको छ । उत्तम हुमागाईले छायाङ्कन गर्नुभएको यस गीतको भिडियोलाई विकाश धमलाले सम्पादन गर्नुभएको हो । निकेश खड्काको निर्देशनमा तयार पारिएको भिडियोको निर्मात्री दिलु गुरुङ रहनुभएको छ ।

भिडियो गायक ताम्राकारको युट्युब च्यानल ‘जनक ताम्राकार’ मार्फत सार्वजनिक भएको हो । यसअघि मल्लिका र अनुज अभिनित ‘नौडाँडा पारी–२’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको थियो । नयाँ म्युजिक भिडियो मोडल गुरुङको जन्मदिनका अवसरमा सार्वजनिक गरिएको जनाइएको छ ।