तस्वीरमा सीता दाहालसँग र पूर्णकुमारी सुवेदी ।
‘कुखुरा बनी फोहर खोस्रेर आफ्नो टाउकोमा नफाल्नु, व्यक्ति केन्द्रीत स्वार्थ नहेर्नु, बाज बनेर काम गर्नु, अनिमात्र हाम्रो राजनीतिक उचाई बढ्ने छ’ — यो उद्दरण हो, प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नि स्व.सीता दाहालको ।

सबै मानिसले जिन्दगीबाट विश्राम लिने नै मृत्युपरयन्तको घाट त होला ! मृत्यु सास्वत सत्य हो, र पनि हामी कसैको मृत्युलाई स्वीकार्न सक्दैनौं । हिजो जनयुद्धमा मृत्युलाई हत्केलामा राखी सबै चिज त्यागी टाउकोमा कात्रो बाँधेर हिंडेकी सीताले नाफाको जिन्दगीका केही समय बाँचेर सदाका लागि शान्तिको बाटो लिनुभयो ।

एक दिनको कुरा हो, सीता दिदी र म आर्यघाटमा सँगै थियौं । आर्यघाटमा चितामाथि जलिरहेको लासतिर हेर्दै भावुक मुद्रामा दिदीले भन्नुभयो ‘हेरत त बहिनी ! आखिर मरेर लानु के रहेछ र ? यहाँको कथा वस्तुले त यही अनुभूति भइरहेको छ ।’

हो, हिजो सीता दिदीले भन्नुभए जस्तै आज त्यही परिवेश पुनरावृत्ति भैदियो उहाँको जीवनमा । घरपरिवारले मात्र होइन, राष्ट्रले एक असल सरल र साहसी योद्धालाई गुमाउनु पर्यो ।
छोरी ज्ञानुको क्यान्सर र छोरा प्रकाशको हल्र्टअट्याकका कारण भएको मृत्युले सीता दिदीमा झाँङ्गिदै गएको मानसिक तनावले अन्ततः ‘पाकिन्सस’ रोगले उहाँलाई गाँज्यो । सोही रोगका कारण झण्डै दुई वर्षदेखि जीवन–मरणको दोसाँधमा सङ्घर्ष गर्नुभएकी सीतालाई अन्ततः निष्ठुरीकालले लगेरै छोड्यो । उहाँको सङ्घर्षमय जीवनले विश्राम लिइरहँदा मैले अतितलाई स्मरण गर्न पुगें ।

चितवनमा रहँदा सीता दिदी र मेरो बसाईं धेरै टाढाको दुरीमा पनि थिएन । अहिलेको भरतपुर महानगरपालिकामा पर्ने ब्रहमपुरी र सुन्दरबस्ती, चम्पानगर र शिवनगर हाम्रा बसाई थिए । घर व्यवहार , सामाजिक इञ्जत धानेर काम गर्नु पथ्र्यो । घरकी बुहारी, श्रीमती अनि आमा हामी । त्यसमाथि घरको काम, चुलो चौकोदेखि मेला पर्मसम्म । यी सबैको जिम्मेवारी बहन गर्न, घर व्यवहार चलाउन कम सास्ती हुँदैनथ्यो हाम्रा लागि । दिदी सीताको सादगी जीवन र उच्च विचारले सबै समस्याहरुसँग नडराई हल गर्दै जानुहुन्थ्यो र मलाई पनि अभिप्रेरित गरिरहनुहुन्थ्यो । आ–आफ्ना दुःख पीडाहरु बिसाउने एक अर्काका चौतारी थियौं हामी । शिवनगर गाउँबाट जङ्गल जान अलि टाढा थियो ।


एक दिन दिदीले भन्नुभयो ‘दाउरा नभएर भात पकाएर खानेस्थिति नहुँदा बच्चाहरुलाई भोक भोकै कसरी सुताउने चिन्ताले पिरोयो । जसरी पनि बालबच्चाहरुलाई खुवाउनु त थियो नै, आमाको मन त हो उपाय खोज्दै जाँदा यसो सोचें भान्सामा खाना खाँदा बसेर खाने काठका पिर्काको याद आयो । अनि ति पिर्कालाई चिरेर दायरा बनाएँ र तिनै दाउरा बालेर खाना पकाएर छोराछोरीलाई ख्वाएर सुताएँ । घर परिवारसँग अलग भएपछि साना छोराछोरी लिएर बस्दा असाध्यै दुःख भयो । छोरी ज्ञानुले आफुभन्दा ठूला मकैका ढोडका भारी बोकेर मलाई सहयोग गर्दाको क्षण सम्झँदा अहिले पनि भक्कानो फुटेर आउँछ ।’

सामाजिक चलन, रिती–रीवाज, चाडपर्वहरु आउँदा कहिल्यै रमाइलो र खुसी हुने वातावरण थिएन हाम्रा लागि । सधैं समस्याका भूमरीमा हुन्थ्यौं हामी । भूमिगत हुँदा त कहाँ कतिबेला के हुने हो, मर्नु बाँच्नुको ठेगान हुँदैनथ्यो ।

पारिवारिक निकटताले हामी दुई दिदी बहिनीबीच जीवनका आफ्ना भोगाइहरु, दुःख पीडा, हाँसो र रोदन साटासाट गर्ने साथी पनि बन्यौं । हाम्रो समस्या, कथा, व्यथा र वेदना एउटै भयो भन्नुहुन्थ्यो दिदी । कहिलेकाही हामी यस्तै दुःख पीडाका कहानी साट्दा आँखाहरु रसाउथे, सँगै रुन्थ्यौ । यसैबीच कहिलेकाही पार्टी अध्यक्ष प्रचण्ड हाम्रा सामु उभिँदै भन्नुहुन्थ्यो ‘यी दुई दिदीबहिनी भेटेपछि रुने गर्छन् ।’

जब २०५२ साल फागुन १ गतेबाट जनयुद्धको थालनी भयो, हामी मुक्ति आन्दोलनका लागि लामबद्ध हुन पुग्यौं । जनयुद्धले जब गतिलिंदै गयो तब हाम्री जीवन–मरणको पर्वाह नगरी आ–आफ्नै जिम्मेवारी र मोर्चामा लामबद्ध भयौं । युद्धका मोर्चामा रहँदा कयौं ठाउँमा हामी बालबाल बँच्दै आफ्ना जिम्मेवारी पुरा गर्दै हिड्यौं ।

उहाँले विचारलाई व्यवहारमा उतारेर पार्टी, विचार सङ्गठनका योजनाहरु कार्यान्वयन अध्ययन गर्दै परिस्थिति अनुसारका कृया प्रतिकृया दिनुहुन्थ्यो । सहृदयी कोमल भावले सबैलाई मिलाउन सक्ने क्षमता दिदीमा थियो । मलाई दिदीको यस्तै कुराले सधैं प्रेरित गरिरहन्थ्यो । घर परिवारका विषयमा मात्र नभै पार्टीका हरेक कुरामा अझ बढी चिन्ताका साथ छलफल हुन्थे हामीबीच ।

शान्ति प्रक्रियामा आएपछि पनि परिस्थिति उस्तै उस्तै, ‘आफ्ना नाता इष्टमित्रसँग जमघट भएर दुःख सुख बिसाउने वातावरण पनि नहुने । एउटा दशैमा जमरा राखें टिकाको दिन बुढालाई भने, हाम्रा मान्यजन कोही हुनुहुन्न, न तपाईंका बा—आमा, न मेरा बा—आमा, तपाई भन्दा म नै जेठी छु, मैले पहिला तपाईलाई टिका लगाइदिन्छु, त्यसपछि मलाई लगाइदिनुहोला, अनि छोराछोरीलाई टिका लगाइ दिउँला भनेर टिका लगाएर खिचेको फोटो हो भनि फोटो देखाउनुभयो ।’

पार्टीको भूमिकामा रहँदा उहाँले पार्टी पङ्तिलाई विधि, पद्धति र निष्ठाद्वारा चल्नुपर्नेमा विशेष जोड दिनुहुन्थ्यो । सीता दिदीले सदैव आफुलाई शक्तिकेन्द्रमा भन्दा जनता र कार्यकर्तालाई केन्द्रमा राखेर काम गर्नुपर्छ भन्नुहुथ्यो । उहाँमा पहँुच, शक्ति र सत्ताको दम्भ र घमण्ड कहिँ कतै देखिएन । देखियो त केवल पार्टी पद्धति, विधि र विधानमा अडिक रहेर कार्यकर्ता र जनताको हितलाई शिरोधार्य गर्र्नुपर्छ भन्ने भावना । जीवन पर्यन्त उहाँको बारेमा कहिँ कतै त्यस्ता कुराहरु सुनिएन । कयौं यस्ता नारीहरु छन् जसले शक्तिकेन्द्रको दुरुपयोग गरे । तर सीता यस्ती उदाहरणीय पात्र बन्नुभयो, जसमा कहिले सत्ता र शक्तिको उन्मात चढेन । एउटा पार्टीको शक्तिशाली अध्यक्ष, पटक पटक देशको प्रधानमन्त्री भैसकेका व्यक्तिको जीवनसङ्गिनी भएर पनि नत उहाँले कुनै पदीय लाभको चाहना देखाउनु भयो न त कतै त्यो रवाफ र तुजुक नै । त्यतिमात्रै होइन संवैधानिक लाभका पदहरुमा कहिले आकाङ्क्षी भएको आभाष देखिएन ।

सीता एउटा यस्ती नारी हुनुहुथ्यो, जस्ले आफु मैनवत्ती बनेर अरुलाई उज्यालो दिने महान विचार र त्यागको भावनामा समर्पित हुनुहुन्थ्यो । जनयुद्धकालमा पार्टी भित्रदेखिएको ठूला र चर्चित अन्तरविरोधहरु देखिंदा पार्टीका शीर्ष नेताहरुलाई बोलाएर आफ्नो समन्वयकारी भूमिका निर्वाह गर्दै पार्टीलाई मजबुत बनाउन ठूलो सङ्घर्ष गर्नुभएका कुरा स्वयम नेताहरुकै मुखराविन्दुबाट सुनिन्थे । सालिन व्यक्तित्व र साहसिक क्षमताकी धनी सीता निर्दल, बहुदल वा जनयुद्ध तीनै चरणका सङ्र्घषमय पार्टी जीवनमा सिङ्गो पार्टी र अध्यक्षलाई सधैं हिम्मत बढाउने, कुसल सल्लाहकार र सारथीको भूमिकामा रहनुभयो ।

सीताले ‘कार्यकर्तालाई जिम्मेवारी दिने, मूल्याङ्कन गर्ने विषयमा पार्टीलाई अप्ठेरो र समस्या परेको बेलामा अनुशासित भएर साथ सहयोग गर्नेहरुलाई बिर्सनु हुँदैन है’ भनेर नेतृत्वलाई सचेत गराई नै रहनुहुन्थ्यो । भूमिगत जीवनमा बसेका सेल्टरहरु, नजिक रहेका जनता–कार्यकर्ताहरुसँग छलफल गरी लिएका सुझावहरु पार्टी योजना निर्माण गर्दा महत्वपूर्ण सामग्रीहरु बन्दथे ।

मलाई यतिबेला एउटा घटनाको याद आयो । जनयुद्धको उर्लंदो उभार थियो । ठिक त्यसैबेला नयाँदिल्लीमा नेताहरुसँग छलफल गर्न अध्यक्ष प्रचण्ड जानुपर्ने भयो । अध्यक्ष त्यसतर्फ जाने तरखर गर्दैगर्दा दिदी सीताको मनमा एकाएक कालो बादल मडारियो । अब केही अनर्थ हुँदैछ भन्ने आभाषले घोच्यो मनलाई । तत्काल पार्टी अध्यक्ष तथा आफ्ना पति प्रचण्डलाई ढोकामै रोक्नुभयो र गन्तव्यमा नजान आग्रह गर्नुभयो । सीता दिदीका मनमा जुन कालो बादल मडारिएको थियो, त्यो सत्य सावित् भयो पनि । अध्यक्ष प्रचण्ड पार्टीका जुन नेताहरुसँग छलफल गर्न जान लाग्नुभएको थियो, उहाँहरु गिरफ्तारिमा पर्नुभयो । यदि त्यसबखत, सीताका मनमा उर्लेको तरङ्गलाई अध्यक्षले बेवास्ता गरिदिनुभएको भए सायद अकल्पनीय दुर्घटना हुनसक्थ्यो । धन्य, अध्यक्ष प्रचण्ड सीताकै कारण रोकिनु भयो र सम्भावित दुर्घटनाबाट बच्नुभयो । जब कि त्यतिबेला अध्यक्ष प्रचण्डको टाउकाको मूल्य तोकिएको थियो ।

सीता दिदीका इतिहास कोट्याउने हो भने जनयुद्धकालमा भएका कयौैं यस्ता घटनाहरु छन् जहाँ पार्टी अध्यक्ष र नेताहरुलाई बचाउन सफल हुनुभएको धेरै तथ्य प्रमाणहरु भेटिन्छन् । यसरी दिदी सीताको सङ्घर्षपूर्ण पार्टी जीवन, पारिवारिक जीवनका सिकाइ र भोगाइहरु अध्ययन गर्दा परिवर्तनकारी आन्दोलनका योद्धाहरुलाई उत्साहित बनाउने सन्दर्भ सामग्रीका दस्तावेज बनेका छन् ।

धेरै दुःख कष्ट भोगेर पार्टी अध्यक्ष कमरेड प्रचण्डलाई प्रचण्ड बनाउन ठूलो योगदान छ सीताको । त्यसोतः विश्व राजनीतिका ठूला र चर्चित नेताहरुको जीवनीलाई हेर्दा होस् या आ–आफ्ना पेशा व्यवसायमा लागेका व्यक्तित्वहरु नै किन नहुन्, उनीहरुको सफल र असफलतामा जीवन सङ्गीनीहरुकै ठूलो हात रहेको पाइन्छ ।

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष प्रचण्डसँग प्रथम महिलाको रुपमा विदेश भ्रमणमा जाँदा अन्तर्राष्ट्रिय शक्ति राष्ट्रका प्रमुखहरुसँगको भेटघाट, छलफलहरु उहाँका लागि थप सिकाई बने । यद्यपि, राजनीतिक सत्ता र शान्ति प्रकृयामा उहाँको विचार र व्यवहारमा आफ्नो देशको माटो र मौलिकतामा देशको शासन पद्धति रहनुपर्छ भन्ने मान्यता देखिन्थ्यो ।

प्रधानमन्त्री बन्नुभएका पतिका आडमा बालुवाटारबाट राज्यसत्तामाथि कुनै दवाव सिर्जना गरेको मैले अनुभूत गरिन । किनकी म आफैं पनि संविधानसभाको उपाध्यक्ष र पटक पटक सांसद् हुँदाका अवस्थामा सीता दिदीबाट कहिले त्यस्तो आभाष पाइन ।

राज्यशक्तिको पहुँचमा रहेर पनि उहाँले आफुलाई सधैं विवादरहित नै बनाउनुभयो । सीता दिदीसँगको मेरो लामो पारिवारिक र पार्टी जीवनको यात्रामा रहँदा सधै पदीय मर्यादालाई केन्द्रविन्दुमै राख्नुभयो भन्ने मेरो निष्कर्ष हो । सीता दिदी एउटा यस्तो पात्र हुनुहुन्थ्यो जोबाट हामी सबैका लागि आदर्शको पात्र भन्दा अत्युक्ति नहोला ।

विस्तृत शान्ति सम्झौताका कामहरु छिटोभन्दा छिटो सक्नुपर्दछ, आन्दोलनका उपलब्धीहरुको संरक्षण गरी पार्टीलाई मजवत बनाउनु पर्छ भन्ने चिन्ता र चासो व्यक्त गरिरहनुहुथ्यो । सीता यस्ती पात्र हुनुहुथ्यो, जस्ले सामन्ती राज्य सत्ताका विरुद्ध, देश र जनताका खातिर आफ्ना सन्तानलाई दशवर्षे जनयुुद्धको मोर्चामा लामबद्ध गराउनुभयो । कुन आमाको मन होला र आफ्ना सन्तानका हातमा बन्दुक भिराएर युद्धको भूमरीमा धकेल्न दुष्साहस गर्ने ?

जनयुद्धमै होमिएका कयौं नेताका छोराछोरीहरु आलिसान सुख सुविधामा रम्दै उच्चशिक्षा शिक्षा हासिल गरे । चाहेको भए के पार्टीका अध्यक्ष जस्तो शक्तिशाली नेताका सन्तानले त्यो सुविधा उपभोग गर्न सक्दैनथे होलान् त ? तर सीताले मुक्ति आन्दोलनमा आफ्ना सन्तानलाई लामबद्ध गराउन कुनै कसर बाँकी राख्नुभएन । राजनीतिक मुल्य मान्यताको आर्दश चेतनाले प्रेरित सीता दिदीको सङघर्षपूर्ण, दुःखकष्ठका पीडायुक्त अवस्थाले स्पातिलो बनाएको जीवनशैलीलाई राजसी र ऐस आरामको जिन्दगीको मोहले आकर्षित गर्न सकेन ।

क्रान्तिको ज्यूँदो इतिहास, मेरो कुशल अभिभावक, सीता दिदीलाई गुमाउँदाको पीडा सारै दुःखदायी भयो । उहाँलाई गुमाउँदाको पीडा व्यक्त गर्नै सकिदैंन । दिदीलाई अन्तिम श्रद्धाञ्जली दिनका लागि विशाल जनसमुदायको अपार समवेदना, माया र सहानुभूतिले परिवारजन, आफन्त र स्वयम पार्टीका कार्यकर्तामा शोकलाई शक्तिमा बदल्न प्रेरित गर्यो । उहाँ जस्तो हक्की निडर, आदर्श महिला नेताको आवश्यकता नेपाली राजनीतिमा सधैं खट्किरहने छ । सीता दिदीप्रति हार्दिक श्रद्धासुमन ।
—(लेखक संविधानसभाका पूर्वउपसभामुख पूर्णाकुमारी सुवेदी हुनुहुन्छ )