जुम्ला — तातोपानी गाउँपालिकाले सडक विस्तारमा फड्को मारेको छ । भौतिक पूर्वाधार विस्तारलाई विशेष प्रथामिकतामा राखेर काम गरेको उक्त पालिकाले आर्थिक वर्ष २०७९/८० मा धुले सडक तीन हजार १९ मिटर, ग्राभेल सडक पाँच सय ७० मिटर, सोलिङ सडक पाँच सय ६० मिटर, पिपिसी सडक नौ सय २२ मिटर र आरसिसि सडक दुई सय ५० मिटर निर्माण गरी जम्मा पाँच दशमलव ३०१२ किमि सडक सञ्चालनमा ल्याएको गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंले जानकारी दिनुभयो ।

विकासको कामलाई चुस्त र गुणस्तरीय बनाउका लागि अनुगमन समितिले कडाइका साथ नियमित काम गरेकाले बाटोमा सुधार आएको र नागरिकले राहत महसुस हुनेगरी काम गरिएको उहाँको भनाइ थियो। गाउँपालिका इञ्जीनीयर डिल्ली बुढाका अनुसार गोरेटो बाटो निर्माण नौ हजार नौ सय ४७ मिटर, सोलिङ बाटो निर्माण दुई हजार आठ सय ७७ मिटर, पिसिसी बाटो निर्माण आठ सय ९४ मिटर र आरसिसी सडक ७८ मिटर गरी जम्मा १३ दशमलव ७९६ किमि सडक निर्माण भएको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै गाउँपालिकाले विद्युत् लाइन विस्तार र मर्मत पाँच वटा, झोलुङ्गे पुल र ट्स पुल निर्माण दुई, तटबन्ध ११ वटा निर्माण गरेको प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले बताउनुभयो ।