फाइल तस्वीरः भन्सार कार्यालयको प्रमुखमा टोकराज पाण्डे ।

काठमाडौं — अर्थ मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयको प्रमुखमा टोकराज पाण्डेलाई पठाएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सहसचिव पाण्डेलाई त्रिभुवन विमानस्थल भन्सार प्रमुखमा नियुक्त गर्नुभएको हो ।

विमानस्थल भन्सार कार्यालयमा सुनको तस्करी बढेको र केही दिन अघि एक क्विन्टलभन्दा बढी सुन समातिएको थियो । भन्सार विभागको प्रमुखको जिम्मेवारी पाउनुभएका सहसचिव पाण्डे गत बिहीबारमात्रै निजामती राष्ट्रिय किताबखानाको महानिर्देशकबाट अर्थ मन्त्रालयमा सरुवा हुनुभएको थियो ।

यस अघिका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार प्रमुखमा रहनुभएका अरुण पोखरेल गत असार १७ गतेदेखि बिरामी बिदामा बस्नुभएको र उहाँलाई अर्थमन्त्रालयमा सरुवा गरिएको छ । 

एकसाता अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँच पास भइसकेर एक क्विन्टल सुन भित्रिँदा भन्सार प्रमुख पोखरेल र त्यहाँ खटिएका प्रहरी प्रमुख बिदामा रहनुभएको थियो । भन्सार प्रमुख पोखरेल विदामा रहेका कारण मन्त्रालयले त्यहाँको जिम्मेवारी निमित्त प्रमुखको रुपमा नारद गौतमलाई दिइएको थियो ।

गत पुष १० गते विद्युतीय चुरोट(भेप)मा राखेर सोही विमानस्थलबाट नौ किलो सुन तस्करी भएको प्रकरणमा अनुसन्धान भैरहेको बेला भन्सार प्रमुख पोखरेल ढाडको समस्या देखाई दुई महिनादेखि बिरामी विदामा बस्नुभएको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साउन ३ गते भन्सार कार्यालयबाट पास गराइएको एक क्विन्टलभन्दा बढी सुन सिनामङ्गलबाट राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । यसरी बरामद भएको सुन थापाथलीस्थित नेपाल राष्ट्र बैंकमा राखिएको छ । यस सुन प्रकरणमा चीन भारत र नेपालको त्रिपक्षीय ठूलो गिरोहको सम्लग्न रहेको अनुमान गरिएको छ । सोही आशङ्कामा प्रहरीले एक चिनियाँ नागरिकलाई स्वदेश फर्किनेक्रममा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।