फाइल तस्वीर
बागलुङ– बाँदरका कारण बर्सेनि खेतीमा नोक्सानी खेप्दै आएका बागलुङका किसान बाली बीमा भने गर्दैनन् ।
वर्षा, हिमपात, असिना, हावाहुरी तथा जङ्गली जनवारले बालीमा क्षति पु¥याएका खण्डमा बीमा गरेपछि सो बापतको रकम उपलब्ध हुने गर्दछ ।
बाँदरका कारण किसानको बालीमा बर्सेनि नोक्सानी भइरहन्छ तर नोक्सानीको भरणपोषणका लागि आवश्यक रहेको बाली बीमातर्फ भने यहाँका किसान आकर्षित नभएको पाइएको छ ।
कृषि ज्ञान केन्द्र बागलुङले बाली बीमा गर्नका लागि किसानलाई ‘प्रिमियम रकम’ समेत प्रदान गर्दछ । बालीको सम्भावित क्षतितर्फ किसानको ध्यान नगएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
गत आर्थिक वर्षमा किसानलाई बाली बीमाको प्रिमियम भुक्तानीका लागि कृषि ज्ञान केन्द्रले दुई लाख ४० हजार रकम विनियोजन गरेको थियो । हजारौँ किसान रहेको बागलुङमा बाली बीमा कार्यक्रमबाट लाभान्वित हुने किसानको सङ्ख्या १३ जना रहेको कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।
कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईका अनुसार किसानले गरेको बाली बीमाका आधारमा केन्द्रले बीमाको प्रिमियम रकम प्रदान गर्ने भने पनि १३ किसानले २७ हजार रुपैयाँ प्रिमियम रकम लगेको बताए ।
बाँदरलाई जङ्गली जनवारको क्षतिको रुपमा बीमा दाबी गर्न सकिने जनाउँदै बाली बीमा गर्न किसानलाई प्रोत्साहनस्वरुपको कार्यक्रम कार्यान्वयन भएपनि उनीहरु आकर्षित नभएको उनको भनाइ छ ।
भुक्तानी प्रक्रिया झन्झटिलो भएका कारण किसानले बीमा गर्नेतर्फ आकर्षित नभएको जिल्ला कृषि सहकारी सङ्घका अध्यक्ष नरबहादुर थापाले जानकारी दिए । ‘साना किसान बीमाको विषयमा जानकार नै छैनन्, तर ठूला कृषि फर्महरुले बीमा गरे पनि प्रिमियम शुल्क लिन कृषि ज्ञान केन्द्र नगएकासमेत हुनसक्छन्’, उनले भने, ‘किसानको पेसासमेत जोखिममा छ, जोखिम न्यूनीकरण र क्षतिपूर्तिका लागि किसानले बीमा गर्न आवश्यक छ ।’
बाली बीमाप्रति किसान आर्कर्षित नभएपनि पशु बीमामा भने किसान आकर्षित भइरहेको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र बागलुङका प्रमुख डा. ऋषिराम सापकोटाले बताए । उनले पशुबाट बालीको भन्दा बढी क्षति हुने भएकाले किसान पशु बीमा गर्ने गरेका छन् ।