तस्वीरः
काठमाडौं — एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिताको आज बुधबार भएको समूहगत चरणको आफ्नो अन्तिम खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई पराजित गरेको छ । एसीसी इमर्जिङ टिम्स एसिया कपको आजको खेलमा यूएईलाई तीन विकेटले हराएको हो ।

एसीसी इमर्जिङ टिम्स एसिया कपको इतिहासमा नेपालले हासिल गरेको यो केवल तेस्रो जित हो । यसअघि नेपालले दुई पटक हङ्कङलाई हराएको थियो । श्रीलङ्कामा आयोजित एसीसी इमर्जिङ टिम्स एसिया कप प्रतियोगितामा नेपाल र यूएई दुवै टोली उपाधि होडबाट बाहिरिसकेका छन् । समूह ‘बी’ रहेका नेपाल तेस्रो र यूएई चौथो स्थानमा रहँदा सोही समूहबाट भारत र पाकिस्तान नकआउट चरणमा प्रवेश गरेका छन् । अहिले समूह विजेताका रुपमा सेमिफाइनलमा स्थान बनाउन भारत र पाकिस्तानबीच खेल भइरहेको छ ।

समूह ‘ए’ बाट भने दुई टेस्ट राष्ट्र श्रीलङ्का र बङ्गलादेश नकआउट चरणमा पुगिसकेका छन् । चार—चार अङ्क जोडेको श्रीलङ्का पहिलो र बङ्गलादेश दोस्रो हुँदै सेमिफाइनलमा पुगेका हुन् । नेट रन रेटको आधारमा समूह ए बाट श्रीलङ्का पहिलो र बङ्गलादेश दोस्रो भएका हुन् । यसै समूहका पछाडि परेको अफगानिस्तान ओमान पनि यस चरणबाटै बाहिरिएका छन् ।

टस जिती पहिले ब्याटिङको निर्णय लिएको यूएईले यूएईले ४४ ओभरमा अलआउट हुनुअघि एक सय ५७ रन बनायो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले २३ ओभरमा सात विकेट गुमाएर विजय लक्ष्य पार गरेको थियो ।

नेपालको जितमा कुशल भुर्तेलले अलराउन्ड प्रदर्शन गरे । उनले बलिङमा ६ विकेट लिए भने ब्याटिङमा अर्धसतकीय पाली पनि खेले । उनले टोलीका लागि ७१ रनको योगदान गरे । ओपनर भुर्तेलले ४३ बलको सामना गरी चार छक्का र नौवटा चौका हिर्काएका थिए । त्यसअघि उनले ३२ बलमा आफ्नो अर्धसतक पूरा गरेका थिए । उनले दुई छक्का र आठ चौकाको मद्दतले अर्धसतक पूरा गरेका थिए ।

टोलीका लागि देव खनाले २४ रनको योगदान गरे । चौथो नम्बरमा क्रिज समाल्न आएका सन्दीप जोराले पनि २४ रनकै योगदान गरेका थिए । सन्दीपले केवल १५ बलको सामना गरी दुई छक्का र एक चौका प्रहार गरेका थिए । गुल्सन झाले पनि ११ रन बनाए । कप्तान रोहित पौडेल नौ रनमा आउट भए । प्रतिस जीसीले अविजित आठ रन बनाए । उनले केवल तीन बलको सामना गरी दुई चौका हिर्काएका थिए । कुशल मल्ल दुई रनमा अविजित रहे ।

नेपालले पहिलो ओभरको पहिलो बलमै विकेट गुमाएको थियो । नेपालको पहिलो विकेटका रुपमा विकेटकिपर ब्याट्सम्यान अर्जुन साउद पेभेलियन फर्किएका थिए । उनलाई यूएईका बलर मुहम्मद जवादुल्लाहले एलबीडब्लू आउट गराएका थिए ।

नेपालका दोस्रो विकेटका रुपमा ओपनर ब्याट्सम्यान कुशल भुर्तेल पेभेलियन फर्किएका थिए । उनी ७१ रन बनाएर आउट भएका थिए । उनले ४३ बलको सामना गरी चार छक्का र नौवटा चौका पनि हिर्काएका थिए ।

त्यसअघि उनले ३२ बलमा आफ्नो अर्धसतक पूरा गरेका थिए । उनले दुई छक्का र आठ चौकाको मद्दतले अर्धसतक पूरा गरेका थिए । कुशल भुर्तेलको विकेट यूएईका बलर मोहम्मद फराजुद्दिनले लिएका हुन् । फराजुद्दिनले कुशल भुर्तेललाई फहाद नवाजद्वारा क्याच गराएका थिए । कुशल भुर्तेल आउट हुँदा नेपालले १२.६ ओभरमा ९८ रन बनाएको थियो ।

नेपालले तेस्रो विकेटका रुपमा देव खनाललाई गुमाएको थियो । उनी ३७ बलमा चार चौकाको मद्दतले २४ रन बनाउँदै आउट भएका थिए । उनलाई यूएईका बलर मोहम्मद फराजुद्दिनले एलबीडब्लू आउट गराएका हुन् । देव आउट हुँदा नेपालले १४.५ ओभरमा एक सय तीन रन बनाएको थियो । त्यतिबेला नेपाललाई जितका लागि थप ५५ रन आवश्यक थियो ।

चौथो विकेटका रुपमा नेपालका सन्दीप जोरा आउट भएका थिए । उनी १५ बलमा दुई छक्का र एक चौकाको मद्दतले २४ रन बनाउँदै पेभेलियन फर्किए । उनलाई यूएईका बलर मोहम्मद फराजुद्दिनले अली नासिरद्वारा क्याच गराए । सन्दीप आउट हुँदा नेपालले १६.२ ओभरमा एक सय २४ रन बनाएको थियो । त्यतिबेला नेपाललाई जितका लागि थप ३४ रन आवश्यक थियो ।

पाँचौं विकेटका रुपमा गुल्सन झा ११ रन बनाउँदै आउट भएका थिए । उनको विकेट मोहम्मद फराजुद्दिनले लिएका हुन् । विकेटकिपर आर्यान्स शर्माद्वारा स्टम्पिङ भएका थिए । उनी आउट हुँदा नेपाललाई जितका लागि एक सय ७५ बलमा नौ रन आवश्यक थियो ।

छैटौं विकेटका रुपमा कप्तान रोहित पौडेल आउट भएका थिए । उनी नौ रन बनाउँदै आउट भएका थिए । उनलाई मुहम्मद जवालुद्दिनले आर्यान्स शर्माद्वारा क्याच गराएका थिए । उनी आउट हुँदा नेपालले २१.१ ओभरमा एक सय ४९ रन बनाएको थियो ।

सातौं विकेटका रुपमा पवन सर्राफ आउट भएका थिए । उनले खातासम्म खोल्न सकेनन् । उनको विकेट मोहम्मद फराजुद्दिनले लिएका हुन् । उनी फराजुद्दिनको बलमा बोल्ड हुँदा नेपाललाई जितका लागि एक सय ६५ बलमा सात रन आवश्यक थियो ।

त्यसअघि नेपालले यूएईबाट एक सय ५८ रनको लक्ष्य पाएको थियो । पालीको गतिलो सुरुआत गरे पनि २० ओभरपछि यूएईका ब्याट्सम्यानहरु नेपाली बलरको दबाबमा परेका थिए । त्यसपछि यूएईका ब्याट्सम्यानहरु एकपछि अर्को गर्दै पेभेलियन फर्किएका थिए ।

यूएईलाई सामान्य स्कोरमा समेटन नेपाली बलर कुशल भुर्तेलले उत्कृष्ट प्रदर्शन गरे । उनी एक्लैले ६ विकेट लिए । उनले १० ओभरमा केवल ४० रन खर्चिएका थिए । श्याम ढकालले दुई विकेट लिए ।

कुशल मल्लले एक विकेट लिए । पवन सर्राफले पनि एक विकेट हात पारे ।

कुशल भुर्तेलले ‘लिस्ट ए’ प्रतियोगितामा नेपालका लागि गरेको यो हालसम्मकै उत्कृष्ट बलिङ हो । अन्तर्राष्ट्रिय एकदिवसीय प्रतियोगितालाई समेत आधार मान्दा भने कुशल भुर्तेलले गरेको यो तेस्रो उत्कृष्ट प्रदर्शन हो ।

बुधबारको खेलमा पहिले ब्याटिङ गरेको यूएईका लागि ओपनर ब्याट्सम्यान लभप्रित सिंहले अर्धसतक बनाए । उनले टोलीका लागि ५२ रनको योगदान गरे । उनले ८२ बलको सामना गरी एक छक्का र ६ वटा चौका पनि हिर्काएका थिए ।

एथान डिसुजाले १८ रन बनाए । असवन्त भालथपाले टोलीको खातामा १६ रन थपे । ओपनर ब्याट्सम्यान आर्यन्स शर्माले १४ रन बनाए । जस जिनयानीले १३ रन जोडे । यूएईका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बटुल्न सकेनन् । यूएईको अन्तिम विकेटका रुपमा निलान्श केशवन नौ रनमा आउट भएका थिए । उनलाई श्याम ढकालले विकेटकिपर अर्जुन साउदद्वारा स्टम्पिङ गराएका थिए ।

यूएईको पहिलो विकेटका रुपमा आर्यान्स शर्मा १४ रन बनाउँदै पेभेलियन फर्किएका थिए । उनको विकेट कुशल मल्लले लिएका थिए । कुशलले उनलाई पवन सर्राफद्वारा क्याच गराएका हुन् । पहिलो विकेट खस्दा यूएईले १०.४ ओभरमा ३९ रन बनाएको थियो ।

यूएईको दोस्रो विकेट पवन सर्राफले लिएका थिए । पवनले यूएईका ब्याट्सम्यान अंश टण्डनलाई तीन रनको ब्यक्तिगत स्कोरमा एलबीडब्लूको धरापमा पारेका थिए । टण्डन आउट हुँदा यूएईले १५.४ ओभरमा ५२ रन बनाएको थियो ।

नेपाली बलर कुशल भुर्तेलले यूएईको तेस्रो विकेट लिएका थिए । उनले यूएईका एथान डिसुजालाई १८ रनको ब्यक्तिगत स्कोरमा पेभेलियन फर्काएका थिए । उनले एथानलाई एलबीडब्लूको धरापमा पारेका हुन् । तेस्रो विकेट गुमाउँदा यूएईले २४ ओभरमा ९६ रन बनाएको छ ।

चौथो विकेट पनि कुशल भुर्तेलले लिएका थिए । उनले क्रिजमा जमिसकेका यूएईका ब्याट्सम्यान लभप्रित सिंहलाई सन्दीप जोराद्वारा क्याच गराएका थिए । ओपनर ब्याट्सम्यान लभप्रित सिंहले ८१ बलको सामना गरी एक छक्का र ६ वटा चौकाको मद्दतले ५२ रन बनाएका थिए । उनी आउट हुँदा यूएईले २५.५ ओभरमा एक सय ६ रन बनाएको थियो ।

पाँचौं विकेटका रुपमा यूएईका ब्याट्सम्यान फाहद नवाज चार रनको ब्यक्तिगत स्कोरमा आउट भएका थिए । उनी कुशल भुर्तेलको बलमा विकेटकिपर अर्जुन साउदद्वारा स्टम्पिङ आउट भएका थिए । कुशल भुर्तेलले लिएको यो तेस्रो विकेट थियो । फाहद नवाज आउट हुँदा यूएईले २७.५ ओभरमा एक सय १६ रन बनाएको थियो ।

छैटौं विकेटका रुपमा यूएईका कप्तान अली नासिर एक रन बनाउँदै पेभेलियन फर्किएका थिए । उनलाई कुशल भुर्तेलले आउट गराएका थिए । उनको क्याच पनि कुशल भुर्तेलले नै लिएका हुन् । कुशल भुर्तेलले लगातार चौथो विकेट लिएका हुन् । कप्तान अली नासिर आउट हुँदा यूएईले २९.४ ओभरमा एक सय २१ रन बनाएको थियो ।

सातौं विकेटका रुपमा यूएईले असवान्त भलथपालाई १६ रनको ब्यक्तिगत स्कोरमा गुमाएको थियो । उनको विकेट कुशल भुर्तेलले लिएका थिए । कुशल भुर्तेलले उनलाई विकेटकिपर अर्जुन साउदद्वारा स्टम्पिङ गराएका हुन् । कुशल भुर्तेलले लगातार पाँचौं विकेट लिएका हुन् । उनी आउट हुँदा यूएईले ३३.३ ओभरमा एक सय ३१ रन बनाएको थियो ।

यूएईको आठौं विकेट पनि कुशल भुर्तेलले नै लिएका थिए । उनले लगातार ६ विकेट लिएका हुन् । पछिल्लो विकेटका रुपमा उनले यूएईका मोहम्मद फराजुद्धिनलाई चार रनको ब्यक्तिगत स्कोरमा सन्दीप जोराद्वारा क्याच गराका थिए । मोहम्मद फराजुद्धिन आउट हुँदा यूएईले ३५.२ ओभरमा एक सय ३६ रन बनाएको थियो ।

यूएईको नवौं विकेट भने श्याम ढकालले लिएका थिए । उनले जस जिनयानीलाई १३ रनमा कुशल मल्लद्वारा क्याच गराएका थिए । जस जिनयानी आउट हुँदा यूएईले ४३.२ ओभरमा एक सय ५६ रन बनाएको थियो ।