काठमाडौं — हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सोमबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । मधेस प्रदेशका थोरै बाँकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

भोलि मङ्गलबार मधेस प्रदेश लगायत कोशी प्रदेश र बागमती प्रदेशका तराईका भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा, बागमती र कोशी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा र देशका बाँकी भू–भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, बागमती र गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । साथै मधेश प्रदेश लगायत कोशी प्रदेशका तराई भू भागका थोरै स्थानहरूमा हावा हुरीको सम्भावना रहेको हुनाले यसबाट सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू र दैनिक जनजीवन समेत प्रभावित हुन सक्ने देखिन्छ ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरूमा मेघ–गर्जन र चट्याङसहित भारी वर्षा को समेत सम्भावना रहेको छ । तसर्थ हावाहुरी, भारी वर्षा, मेघ गर्जन र चट्याङ्ग, गेग्रान बहाव, बाढी, पहिरो तथा भू क्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन महाशाखाले अनुरोध गरेको छ ।