फाइल तस्वीर
काठमाडौं — नेपाली राष्ट्रिय महिला फुटबल टिमले आज बङ्गलादेशसँग मैत्रीपूर्ण खेल खेल्दैछ । बङ्गलादेशको ढाकामा यी दुई चिरपरिचित प्रतिद्वन्द्वी टिमबीच मैत्रीपूर्ण खेल हुन लागेको हो ।

दुई देशबीच हुनलागेको मैत्रीपूर्ण खेल राजधानी ढाकाको कमलपुरस्थित विरश्रेष्ठ सहिद सिपाही मोहम्मद मुस्तफा कमल रङ्गशालामा साँझ पौने ६ बजे हुनेछ । नेपाल र बङ्गलादेशबीच गत भदौमा भएको साफ च्याम्पियनसिपपछि आज पहिलो पटक भिड्दै छन् । साफको फाइनलमा नेपाली टिम बङ्गलादेशसँग ३–१ ले पराजित भएको थियो । आजको मैत्रीपूर्ण खेलमा नेपाली टिम साफमा बङ्गलादेशसँग व्यहोरेको पराजयको बदला लिन चाहन्छ ।

नेपाली टिमले बङ्गलादेशमा दुई दिन मैत्रीपूर्ण फुलबल खेल खेल्ने छ । हिजो भएको पत्रकार सम्मेलनमा बोल्दै नेपाली राष्ट्रिय महिला टिमका मुख्य प्रशिक्षक अनन्त थापाले खेल प्रतिस्पर्धात्मक हुने बताउनुभएको छ । ‘साम्बा’ नामले परिचित नेपाली टिमको मुख्य खेलाडी सावित्रा भण्डारी को पुनरागमनले टोली उच्च मनोबलमा रहेको प्रशिक्षक थापाले बताउनुभयो । नेपाली टिमकी कप्तान एञ्जिला तुम्बापो सुब्बाले बङ्गलादेशलाई आफूहरूले कमजोर रूपमा नहेरेको उल्लेख गर्नुभयो ।

गत वर्ष भदौमा घरेलु मैदानमा भएको साफमा अस्वस्थताका कारण साम्बाले पूरै समय मैदानमा बिताउन नसकेकि साम्बाले बङ्गलादेशमा राम्रो प्रर्दशन गर्ने प्रशिक्षक थापाको भनाइ छ ।

चोटपछि नेपाली टोलीकी अर्की महत्वपूर्ण खेलाडी गीता राना र मिडफिल्डर प्रिती राईले पनि टोलीमा पुनरागमन गरेका छन् । गीता भारतसँगको दुई मैत्रीपूर्ण खेलमा चोटका कारण टिममा बाहिर रहेकी प्रिती राई पनि घुँडाको सफल शल्यक्रिया पछि टिममा पुनरागमन भएकी छन् । यद्यपि, उनलाई प्रशिक्षक थापाले मैदानमा उतार्ने कमै सम्भावना देखिन्छ ।

साफ जित्ने टोली बङ्गलादेशका मुख्य प्रशिक्षक गोलान रोबान्नी छोटान यतिबेला बङ्गलादेशी टिमको प्रशिक्षक छैनन् भने साफ जित्ने टिमकी मुख्य स्ट्राइकर सिरहद जहान सोप्ना र डिफेन्डर आकि खातुन पनि यतिबेला बङ्गलादेशी टिममा छैनन् ।

यसैक्रममा बङ्गलादेशका मुख्य प्रशिक्षक मोहबुबुर रहमन लिटुले “साफ च्याम्पियनसिपको फाइनलमा नेपाल पराजित भएपनि बलियो टिम हो । यो पटक नेपाल त्यो हारको बदला लिने प्रयासमा हुनेछ त्यसैले हामीले यो खेललाई र नेपाललाई हल्का रुपमा लिएका छैनौं । हामी उत्कृष्ट खेल प्रस्तुत गर्नेछौं । अहिले सावित्राको पुनरागमनले पनि नेपाली टिम बलियो छ” — भन्नुभएको छ ।

बङ्गलादेश टिमकी कप्तान सविना खातुनले पहिला र अहिलेको आफूहरूको टिममा धेरै फरक रहेको भन्दै “साफपछि हामीले आठ महिना खेल्न पाएका छैनौं । नेपालले खेलिरहेको छ । तर पनि हामी उत्कृष्ट खेल्ने प्रयास गर्नेछौं”— भन्नुभएको छ ।

गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा रहेको नेपाली टिम आज जितको खोजीमा मैदान उत्रनेछ । बङ्गलादेश भने मुख्य फरवार्ड सविना खातुनको कप्तानीमा खेल्नेछ । नेपालले दोस्रो मैत्रीपूर्ण खेल आइतबार खेल्नेछ ।