फाइल तस्वीरः सर्वोच्च अदालत ।


काठमाडौं – कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकारलाई केही समय राहत मिलेको छ । मुख्यमन्त्री नियुक्त गर्ने निर्णय परीक्षण गर्न साउन ७ गतेदेखि अन्तिम सुनुवाइका लागि पेशी तोक्न हिजो बुधबार सर्वोच्चले आदेश दिएपछि मुख्यमन्त्री थापालाई राहत मिलेको हो ।

कोशी प्रदेश एमाले संसदीय दलका नेता हिक्मतबहादुर कार्कीले मुख्यमन्त्री उद्धव थापाविरुद्ध दायर गर्नुभएको रिट निवेदनमाथि सुनुवाइ गर्दै हिजो न्यायाधीश सपना प्रधान मल्लको इजलासले काम चलाउ सरकारको हैसियत दिँदै दीर्घकालीन महत्वका निर्णय नलिन समेत आदेश भएको छ ।

आदेशमा भनिएको छ, ‘अन्तरिम आदेश माग गरेको सम्बन्धमा विचार गर्दा प्रस्तुत मुद्दामा तत्कालै लिखित जवाफ पेश गर्ने र इजलासबाटै निर्णयार्थ सुनुवाईको मिति तोकिएको हुँदा प्रस्तुत मुद्दाको अन्तिम किनारा नभएसम्म दिर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्नु नगराउनु भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ (२) (क) बमोजिम प्रत्यर्थीहरुको नाउँमा अन्तरिम आदेश जारी गरिएको छ।’

कुल ९३ सदस्य सङ्ख्या रहेको कोशी प्रदेशका सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर पेश गरेर नेपाली काङ्ग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापा मुख्यमन्त्रीमा नियुक्त भएपछि थापाको नियुक्ति दबर गर्न माग गर्दै एमाले संसदीय दलका नेता एवम् निर्वतमान मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले सर्वोच्चमा रिट दर्ता गराउनुभएको थियो ।

कोशी प्रदेशमा सरकार बनाउन कम्तिमा पनि ४७ जना प्रदेशसभा सदस्यको आवश्यक पर्दछ । एमालेलाई राप्रपाको साथ रहँदा काङ्ग्रेस–माओवादी–एकीकृत समाजवादी र जसपाको गठबन्धनमा ४६/४६ सांसद् रहेकाले काङ्ग्रेसका उद्धव थापालाई मुख्यमन्त्री बनाउन सभामुख गौतमको हस्ताक्षर सहित ४७ जना सांसद्को बहुमत पुर्याइएको थियो ।

उक्त प्रदेशमा गत पुषमा मुख्यमन्त्री बन्नुभएका एमालेका नेता हिक्मतबहादुर थापाले विश्वासको मत गुमाएपछि कोशी प्रदेशमा उद्धव थापाको नेतृत्वमा सरकार बनेको छ । थापालाई मुख्यमन्त्री बनाउने निर्णयविरुद्ध परेको रिटमा सर्वोच्चले एकैपटक अन्तिम सुनुवाइ गर्न आदेश दिएको हो ।


कोशी प्रदेशसभामा सबैभन्दा ठूलो दलको रुपमा एमाले रहेको छ । नेकपा एमालेका ४० जना, नेपाली काङ्ग्रेसका २९ जना, नेकपा माओवादी केन्द्रका १३ जना, राष्ट्रिय प्रजातन्त्र पार्टीका छ जना, नेकपा एकीकृत समाजवादीका चार जना र जनता समाजवादी पार्टी नेपालका एक जना प्रदेशसभा सदस्य रहेका छन् ।