फाइल तस्वीर
बेइजिङ — चीनको गुआङ्डोङ प्रान्तको एक पूर्वप्राथमिक (किन्डरगार्टेन) विद्यालयमा आक्रमण भएको छ । दक्षिण चीनको गुआङ्डोङ प्रान्तको स्थानीय समयअनुसार ७ः४० बजे उक्त घटना भएको हो ।

उक्त विद्यालयमा आज सोमबार भएको आक्रमणमा परी छ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । अन्तर्राष्ट्रिय चाइना न्यूज नेटवर्कका अनुसार मृत्यु हुनेमा एक शिक्षक, दुई अभिभावक र तीन विद्यार्थी रहेका छन् ।

उक्त घटनामा सम्लग्न रहेको आरोपमा शङ्कास्पद एक व्यक्तिलाई पक्राउ गरिएको समाचारमा जनाइएको छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । स्थानीय प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “शंकास्पद व्यक्ति वु नाम गरेका २५ वर्षीय पुरुष रहेका र उनको घटनासँगको सम्लग्नताबारे अनुसन्धान भइरहेको छ ।”

अपराधस्थल देखाउने दाबी गर्दै पैदल यात्रीहरूले खिचेको र पोष्ट भएका भिडियोहरू चीनमा प्रसिद्ध सामाजिक सञ्जाल वेइबोबाट हटाइएको छ । बन्दुकलाई कडाइका साथ नियन्त्रण गरिए पनि चीनले धारिलो हतियार प्रहार गरी हुने घटनालाई नियन्त्रण गर्न सङ्घर्ष गरिरहनुपरेको छ ।