फाइल तस्वीर
पोखरा — पोखरा महानगरपालिकाले पृथ्वी राजमार्ग अन्तर्गत पर्ने विजयपुर नदीदेखि पृथ्वीचोकसम्मको दायाँबायाँ क्षेत्रका अतिक्रमित जग्गामा निर्मित संचनाहरु हटाउन थालेको छ । महानगरले आज सोमबारदेखि उक्त सडक खण्डको २३ मिटर मापदण्डभित्र परेका संरचनाहरु डोजर लगाएर हटाउन थालेको हो ।

महानगरले एक महिना अगाडि नै सडक मापदण्डभित्र परेका संरचनाहरु हटाउन सार्वजनिक रुपमै जानकारी दिइएको थियो । महानगरको सूचनालाई अटेर गरी बसेकाहरुलाई आजबाट महानगरले हटाउन थालेको छ । पोखरा महानगरपालिकाका नगरप्रमुख धनराज आचार्यका अनुसार स्थायी–अस्थायी गरेर ६० भन्दा बढी संरचनाहरु भत्काउनु पर्ने भएकोले डोजर चलाउन लागेको हो ।

मेयर आचार्यले बाटोका लागि एसियाली विकास बैंक (एडीबी) को टिम पर्सि आउँदैछ । त्यो भन्दा अगाडि राजमार्गको राइट अफ वे क्लियर गरौं भनेर महानगरले सहजीकरण गर्न लागेको बताउनुभयो । एडीबीको सहयोगमा यो राजमार्गलाई विस्तार गरेर चार लेन बनाउन लागिएको छ ।

सडकविस्तार अन्तर्गत विजयपुरदेखि लेखनाथ क्षेत्रको मुआब्जासम्बन्धी विषय अझै नटुङ्गिएकोले त्यहाँका संरचना हटाउन केही समय लाग्ने महानगरले जनाएको छ ।