फाइल तस्वीर


डुम्रे — बर्सेनि हुने वर्षा, भू–क्षयका कारण कृषिमा आधारित धान खेतीको क्षेत्रफल घट्ने क्रममा रहेको छ । कृषिमा आत्मनिर्भर मानिएको मुलुक नेपालमा अहिले धान खेती घट्ने क्रममा रहेको छ । बाढी, पहिरा, भू–क्षयका कारण धान खेतीको क्षेत्रफल घट्दै गएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ । बाढी, पहिराका कारण सिँचाइ हुने क्षेत्रमा समेत पानीका अभाव भएर खेतीयोग्य भूमि बाझिन थालेको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कृषि विकास अधिकृत कुलप्रसाद तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार विगतको तुलनामा वर्षेनी धान उत्पादन घट्दो अवस्थामा छ ।

“युवा विदेशिनु एउटा कारण हो, तर बर्सेनि वर्षायाममा आउने बाढीपहिराका कारण पनि धान खेती घट्दै गएको छ”, उहाँले भन्नुभयो, “सिँचाइ हुने खेतीयोग्य भूमि अहिले सिँचाइ हुन नसक्दा बाझिएको छ, जसले गर्दा धान खेतीको क्षेत्रफल घटेको हो ।” बर्सेनि आउने बाढीपहिराले धान खेत पुरिदिने, कुलो, नहर भत्किने, खेतमा धान रोप्ने बेलामा मल अभाव हुने र निर्माण तथा मर्मत नहुँदा खेतीयोग्य भूमि घट्दै गएको उहाँले बताउनुभयो ।

यी विभिन्न कारणले गर्दा क्षति पुग्दा चैते धान मात्रै नभएर वर्षे धानलगायत सबै खेती घट्ने क्रममा रहेको उहाँले जानकारी दिनुभयो । खेती गर्ने समयमा आवश्यक पर्ने समस्याको समाधान गर्न सकिएमा उत्पादनलाई बढाउन सकिने उहाँको भनाइ छ । कूल क्षेत्रफल ११ हजार हेक्टरमा वर्षे धान खेती हुने गरेको उहाँले जानकारीदिनुभयो । उक्त क्षेत्रफलमा हुनेमा चार हेक्टर क्षेत्रफल घटेर आठ हजार हेक्टर क्षेत्रफलमा अहिले धान खेती हुने गरेको उहाँको भनाइ छ । उहाँका अनुसार उक्त क्षेत्रफलमा तनहुँमा २४ हजार मेट्रिक टन धान उत्पादन हुने गरेको छ ।

रामधान, सावित्री, हर्दिनाथ १, हर्दीनाथ हाइब्रिड १ लगायतका धान लगाउने गरेको छ । विभिन्न क्षेत्रमा सडक विस्तारको क्रममा खेतलाई गेग्रानले पुर्ने, कुलो पुर्ने, पुराना भएका कुलाको निर्माण गर्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो । “नयाँ नयाँ हाइब्रिड धान लगाउनुपर्ने अवस्था रहेको छ, प्रविधिको उपयोग गरी उत्पादन बढाउने कार्यतर्फ सरकारको ध्यान जानुपर्छ”, उहाँले भन्नुभयो, “सङ्घीय सरकारले ऐन बनाएर स्थानीय सरकारलाई कार्यान्वयनका लागि दिनुपर्ने अवस्था छ, यसले गर्दा जमिन बाझिने कार्य रोकिन्छ ।”

मानिसले काम गर्न गाह्रो मान्ने भएकाले कृषिलाई निरन्तरता दिन प्रोत्साहनका लागि धान रोप्ने, काट्ने, झाट्ने, धान प्रशोधन गर्ने मेसिन उपलब्ध गराउन सक्नुपर्छ । यसले गर्दा धान उत्पादन वा कृषिमा आधारित भइरहने उहाँले बताउनुभयो । कृषकलाई सहज बनाउने उद्देश्यले प्रविधियुक्त बनाउन आवश्यक छ ।

खेतको क्षेत्रफल नै घट्दै गएको अवस्थामा तनहुँमा चैते धान खेतीको क्षेत्रफलसँगै उत्पादन पनि घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ । यस वर्ष २० प्रतिशतले धान उत्पादनमा कमी आउने कृषि ज्ञान केन्द्रका प्रमुख कृषि विकास अधिकृत तिवारीले बताउनुभयो ।

धान फूल खेल्ने बेलामा यस वर्ष लामो समय खडेरी परेकाले फल राम्रो नलाग्दा उत्पादन घटेको किसान बताउँछन् । पछिल्लो केही वर्षयता चैतेधान खेतीको क्षेत्रफलसमेत घट्दै गएको छ । युवा ज खेती गर्ने क्रम घट्दै गएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ ।

विगतमा कूल छ हजार हेक्टर क्षेत्रफलमा चैते धान खेती हुँदै आएकामा एक हजार आठ सय हेक्टर क्षेत्रफलमा चैते धान खेती हुने गरेको तिवारीले बताउनुभयो । उहाँका अनुसार उक्त क्षेत्रफलमा पाँच हजार मेट्रिक टन धान उत्पादन भएको छ । चैते धान बिक्रीमा समस्या, चिउरा मिल पर्याप्त नहुनु, खडेरीले पनि उत्पादनमा असर गरेको उहाँले बताउनुभयो ।

खेतमा सिँचाइ सुविधा नहुँदा यस वर्ष चैते धान उत्पादनमा ह्रास आएको बन्दीपुर गाउँपालिका–१ वासु पन्थले बताउनुभयो । उहाँले भन्नुभयो, “यस वर्ष धान काट्ने समयमा हामी खुसी नै छौँ, तर फल हाल्ने बेला लामो खडेरीको खेप्नुप¥यो, यसले गर्दा उत्पादन हुन सकेन ।” विगतका वर्षमा १० रोपनी क्षेत्रफलबाट ४० देखि ५० मुरी धान उत्पादन गरेकामा यस वर्ष मात्रै उत्पादन हुने अनुमान उहाँको छ । सिँचाइको सुविधा नहुनु, समयमा मल बीउ सरकारले कृषिमा गर्नुपर्ने जति लगानी नगर्नु, कृषकका आवश्यकताअनुसार सहज प्राविधिक सहयोग नपाउनुजस्ता कारणले उर्बर भूमिमा ह्रास आएको हो ।

खेतमा काम गर्ने जनशक्तिको कमीका कारण पनि चैते धानको खेती घट्दै गएको तिवारीले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले अधिकांश युवा वैदेशिक रोजगारीमा जान्छन्, हातमा पैसा भएपछि दुःखै नगरी विभिन्न प्रकारका चामल पाइने हुँदा हिलोमा गएर काम गर्न रुचाउदैनन् ।”

कृषिमा आधुनिक प्रविधि भित्र्याउन नसक्दा पनि खेतीयोग्य भूमि घट्दै गएको उहाँले बताउनुभयो । गत वर्ष दुई हजार हेक्टर क्षेत्रफलमा चैते धान लगाइएकामा सात हजार मेट्रिक टन धान उत्पादन भएको थियो भने यस वर्ष एक हजार आठ सय हेक्टर क्षेत्रफलमा चैते धान लगाइएको छ । उक्त क्षेत्रफलमा छ हजार तीन सय मेट्रिक टन धान उत्पादन हुने ज्ञान केन्द्रको अनुमान छ । जिल्लाका १० वटै पालिकाका सिँचाइ सुविधा भएका चुँदीफाँट, कलेस्ती फाँट, साँगे फाँट, पुट्टार फाँट, रिस्ती फाँटलगायत फाँटमा चैते वा वर्षे धान खेत गर्ने गरिन्छ । रासस