फाइल तस्वीर

काठमाडौं — कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकारविरुद्ध परेको रिटको सुनुवाइ आज हुँदैछ । कोशी प्रदेशका सभामुखको हस्ताक्षरसहित बहुमत पु¥याएर गठन भएको थापा नेतृत्वको सरकार अवैधानिक रहेको भन्दै नेकपा एमालेले सर्वोच्चमा दायर गरेको रिटमा आज सुनुवाइ हुन लागेको हो ।

निष्पक्ष बस्नुपर्ने सभामुखले सरकार निर्माण गर्न र ढाल्न भूमिका खेलेको भन्दै नेकपा एमालेका तर्फबाट निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले नवनिर्वाचित मुख्यमन्त्री समेतलाई विपक्षी बनाइ शुक्रबार वारेसमार्फत सर्वोच्चमा रिट दर्ता गराउनुभएको थियो । कार्कीको रिटमा प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री उद्धव थापा र सभामुख बाबुराम गौतमलाई विपक्षी बनाइएको छ ।


कार्कीले आफ्नो रिटमा संविधानको धारा १६८ (२) बमोजिम सरकार गठन गर्दा सभामुखलाई समेत समावेश गरिनु संविधान विपरीतको कार्य भएको दाबी गर्नुभएको छ । संविधानको धारा १६८ को उपधारा २ मा प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नसक्ने व्यवस्था छ ।

कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले काङ्ग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थनमा थापालाई बिहीबार मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो । तर निवर्तमान मुख्यमन्त्री कार्कीले असंवैधानिक रूपमा नियुक्त भएका मुख्यमन्त्रीको नियुक्ति बदर गरी धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभामा सबैभन्दा ठुलो दलको संसदीय दलको नेताको हैसियतमा आफूलाई मुख्यमन्त्री नियुक्तिको लागि परमादेशको माग गर्नुभएको छ ।