प्रतिकात्मक तस्वीर
हेटौंडा — पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ६ नयाँ बस्ती डिपाट गाउँमा दुईवटा ट्रक आपसमा ठोक्किँदा दुवै ट्रक जलेका छन् । जिल्ला प्रहरी कार्यालय मकवापनुरका अनुसार हेटौँडातर्फबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ६६६७ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ६३१ नम्बरको ट्रक एकापसमा ठक्कर खाँदा दुवै ट्रकमा आगलागी भएको हो ।

आज बिहान पौने २ बजेतिर भएको उक्त दुर्घटनामा परी तीन जनाको मुत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् । दुर्घटनामा परी ना ६ ख ६६६७ नम्बरको ट्रकका चालक जिल्ला चितवन राप्ति नगरपालिका ८ का अन्दाजी २८ वर्षीय रिहान रुम्बा, सोही ट्रकका सहचालक जिल्ला गोरखा गण्डकी गाउँपालिका २ गोर्दीटारका अन्दाजी २१ वर्षीय सुमन चेपाङ र ना ६ ख ६३१ नम्बरको ट्रकका सहचालक जिल्ला मकवानपुर मनहरी गाउँपालिका ३ बस्ने अन्दाजी २० वर्षका अमृत प्रजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।