हवाना — चीनले प्रस्तावित बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) का पारस्परिक लाभबारे जानकारी दिने उद्देश्यले क्युवाको राजधानी हवानमा अन्तरराष्ट्रिय सम्मेलन आयोजना गरेको छ । बिआरआई पहलको दशौँ वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको उक्त सम्मेलनमा क्युवाका लागि चिनियाँ राजदूत मा हुईले बिआरआईले सभ्यताहरूबीच व्यावहारिक सहयोग र आपसी सिकाइलाई अझ सघन बनाएको बताउनुभयो ।

“चीनले आफ्नो स्थायित्व र विकासका साथै विश्व शान्ति र प्रगति प्रवर्द्धन गर्न सबै पक्षसँग काम गर्नेछ,”मानवजातिको साझा भविष्य निर्माणलाई बिआरआईले लक्ष्य बनाएको बताउँदै चिनियाँ राजदूतले भन्नुभयो । मानव समाजले सामना गरिरहेका वर्तमान चुनौतिहरूसँग विश्वव्यापी आर्थिक पुनरुत्थानको लागि लामो बाटोमा साथसाथै अघि बढ्न बिआरआईको अवधारणा अघि सारिएको उहाँले स्पष्ट गर्नुभयो ।