तस्वीर : नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइराला ।
मोरङ — नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कोशी प्रदेश सरकार निर्माणमा सभामुखको भूमिका तटस्थ हुनुपर्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सभामुखले सरकार निर्माणका क्रममा सदस्यको हैसियतले समर्थन गर्नु भोलिका दिनमा अप्ठ्यारो अवस्था सिर्जना हुनसक्ने आशङ्का व्यक्त गर्नुभयो ।

नेता डा. कोइरालाले सरकार निर्माणका क्रममा संसदीय व्यवस्थामा गणितको खेल हुने बताउँदै यस्ता उतार चढावलाई झेल्दै संसदीय परम्परा र संविधानमा भएका करारलाई टेकेर अगाडि बढ्दै जानुपर्नेमा जोड दिनुभयो । उहाँले कांग्रेस लोकतान्त्रिक परिपाटी, ससंदीय अभ्यास र संविधानलाई टेकेर अगाडि बढ्नुपर्छ भन्ने मान्यता राख्ने पार्टी भएको बताउनुभयो । उहाँले भन्नुभयो, “कोशी प्रदेश सरकार निर्माणका विषयमा प्रतिपक्ष दल नेकपा (एमाले) सर्वोच्च अदालत जान सक्ने कुरा छ, अदालतको निर्णय हामी सबैले स्वीकार गर्नुपर्छ ।”

उहाँले दण्डहीनताको अन्त्य र भ्रष्टचार मुक्त समाजले मुलुकलाई समृद्धितर्फ डोर्‍याउने र लोकतन्त्रलाई बलियो बनाउने धारणा राख्नुभयो । एक प्रश्नको जवाफमा नेता डा. कोइरालाले वर्तमान गठबन्धन सरकारलाई अगाडि बढाउनाका साथै बलियो बनाउनुपर्ने र अन्य गठजोडतर्फ सोच्न नहुने बताउनुभयो ।