फाइल तस्वीर
किएभ — युक्रेनको पश्चिमी शहर ल्भिभमा रहेको एउटा अपार्टमेन्टमा रुसी रकेट प्रहार हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको खबर छ । त्यहाँका नगरप्रमुख एन्ड्री सडोवीका अनुसार रुसी आक्रमणमा परी आठ जना घाइते भएका छन् ।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । भवनको भग्नावशेषमा धेरै मानिस फसेको आशङ्का गरिएको छ । रुसी आक्रमणबाट एउटा चारतले भवनमा धेरै क्षति भएको छ भने अन्य ५० वटा आवासीय भवनमा क्षति भएको छ । करिब ५० वटा गाडीमा पनि क्षति भएको अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले उल्लेख गरेका छन् ।

केही समय अघि दुई जनालाई भग्नावशेषबाट निकालिएको छ । उद्धार टोलीले भग्नावशेषमा खोजी जारी राखेको छ । क्षेत्रीय प्रमुख म्याक्सिम कोजित्स्कीले पानी आपूर्तिलगायत शहरमा महत्वपूर्ण पूर्वाधार सुविधामा पनि प्रहार भएको छ । यद्यपि उनले कुन–कुन पूर्वाधारमा क्षति भयो भन्नेबारेमा विस्तृत विवरण दिएका छैनन् ।

उक्त आक्रमणबारे रुसी सेनाले कुनै प्रतिक्रिया दिएको छैन ।