फाइल तस्वीर

काठमाडौं — नेपालले आयरल्याण्डलाई दुई सय ६९ रनको लक्ष्य दिएको छ । जिम्बावेमा जारी आइसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत सातौं स्थानका लागि आज ताकाशिंगा स्पोर्ट्स क्लबको मैदानमा भैरहेको खेलमा नेपालले जितका लागि आयरल्याण्डलाई दुई सय ६९ रनको लक्ष्य दिएको हो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा दुई सय ६८ रन बनाएको छ । नेपालका लागि गुलसन झाले अविजित ५७ रनको अर्धसतकीय इनिङ्स खेलेका थिए ।

नवौं स्थानमा ब्याटिङ गर्न आएका गुलसनले ४२ बलमा चार चौका र तीन छक्काको सहयोगमा उक्त रन जोडेका थिए भने अर्जुन साउदले ४८ र कुशल मल्लले ४४ रनको साझेदारी गरेका थिए । सन्दीप लामिछानेले ३० बलमा तीन चौका र एक छक्काको सहयोगमा ३२ रन बनाउन सफल भए ।

यसैगरी कप्तान रोहित पौडेलले २९ र भिम सार्कीले २० रन बनाउँदा ओपनर कुशल भुर्तेल आठ, ज्ञानेन्द्र मल्ल सात र करण केसी चार रनमै आउट हुनुपरेको थियो । भने किशोर महतोले अविजित एक रन मात्र जोडेका थिए ।

बलिङका आयरल्याण्डका बेरी म्याकर्थी, क्रेईग योङ र मार्क अडेरले दुई दुई तथा कर्टिस चेम्पर, ग्रेथ डेनाली र एन्डी म्याकब्राइनले एक एक विकेट लिएका थिए ।

आयरल्याण्ड टेस्ट मान्यता प्राप्त टोली हो । नेपालले सातौं स्थानका लागि आईतबार भएको दोस्रो सेमिफाइनल खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई तीन विकेटले हराउँदै आयरल्याण्डसँगको भेट पक्का गरेको थियो । नेपालले आज यूएईविरुद्धको खेलमा टोलीमा रहेका प्रतिस जिसी र आरिफ शेखको स्थानमा किशोर महतो र कुशल मल्ललाई मौका दिएको छ । नेपाल छनोटको सुपर सिक्स पुग्नबाट बाहिरिएपछि प्लेअफ खेलेको हो ।