फाइल तस्वीर
जेरुसेलम– इजरायलले गरेको हवाइ हमलामा ८ जना प्यालेस्टिनी मारिएका छन् । अन्तर्राष्ट्रिय समाचार माध्यमका अनुसार इजरायली वायुसेनाले प्यालेस्टाइनको कब्जामा रहेको वेस्ट बैंक क्षेत्रको जेनिन सहरमा हवाई आक्रमण गर्दा ८ जना मारिएका हुन् ।

आक्रमणपछि इजरायली स्थल सेना पनि अपरेशनमा सामेल भएको थियो । यस क्रममा २० प्यालेस्टाइनी पक्राउ परेका थिए । यसैबीच, प्यालेस्टाइनको आतङ्कवादी सङ्गठनले इजरायललाई ध्वस्त बनाउने धम्की दिएको छ ।

प्यालेस्टाइनमा रहेका हमासका लडाकुहरूले केही दिन देखि इजरायलमा आक्रमण गरिरहेका थिए । यस क्रममा रकेटसँगै मोर्टार र बन्दुकको प्रयोग भएपछि सोमबार बिहान इजरायली वायुसेनाले जेनिनमा हवाई आक्रमण गरेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएको छ ।

वेस्ट बैंक क्षेत्रमा विगत केही दिन यता तनाव बढ्दै गइरहेको छ । इजरायली सेनाले यो क्षेत्रमा केही दिनदेखि आक्रमण बढाउँदै गइरहेको छ तर यो आक्रमणलाई उनीहरूले आतङ्कवादविरुद्धको गतिविधि भनेका छन् ।

यस अङ्ग्रेजी वर्षको सुरुवातदेखि इजरायली सेनाको आक्रमणमा २९ जना प्यालेस्टिनीहरू मारिएका छन् । इजरायलको लागि खतरा बढ्दै जाँदा यो अपरेशन जारी रहने जनाइएको छ ।