फाइल तस्वीर

सिन्धुली — कमलमाई नगरपालिकाले व्यावसायिक कृषि प्रवर्द्धन गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा किसानलाई कृषियन्त्र वितरण गरेको छ । चौध वडामा रहेका किसानलाई कृषियन्त्र वितरण गरिएको हो ।

कृषि यान्त्रीकरण, प्रविधिको प्रयोग गरी जीविकोपार्जन मात्र नभई व्यावसायिक कृषि प्रवर्द्धन गर्ने उद्देश्यले नगरका किसानलाई कृषियन्त्र वितरण गरिएको कमलामाई नगरपालिकाकी उपमेयर मञ्जु देवकोटाले बताउनुभयो । अहिले धान रोपाइँ गर्ने बेलामा लम्पी स्कीन रोगबाट गोरु बिरामी पर्दा किसानलाई धान रोपाइँ गर्न समस्या भएको उहाँको भनाइ छ । कमलामाई नगरपालिकाले वितरण गरेको मिनी ट्रेलर र पावर ट्रेलरले धान रोपाइँ गर्न सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

मिनी ट्रेलर पाएपछि अब खेती गर्न किसानलाई निकै सहज र सरल हुनुका साथै कम समयमा बढी उत्पादन लिन सक्ने र आधुनिक कृषियन्त्रको सहाराले कृषिमा ठूलो परिवर्तन आउने बताउनुभयो । कमलामाई नगरपालिकाले किसानलाई कृषि खेती गर्ने सीपसहित प्रविधि, प्राविधिकको उपलब्धता गराउँदै आएको उहाँले बताउनुभयो । उहाँले अनुदान पाउनका लागि निवेदन दर्ता गराएका किसानको घर–घरमा पुगेर अनुगमन गरी ५० प्रतिशत अनुदान पाउने किसान छनोट गरेर उनीहरुलाई यन्त्र उपलब्ध गराइएको बताउनुभयो । छनोटमा परेका किसानले कृषिलाई व्यवसायीकरण गर्ने जनाएकाले आधुनिक उपकरणले सो कामलाई सहज बनाउने बताउनुभयो ।

किसानको मागको आधारमा नगरपालिकाले किसानको परम्परागत खेतीलाई व्यावसायिक बनाउने गरी कार्यक्रम सञ्चालन गर्दै नगरपालिकालाई तरकारीमा आत्मनिर्भर बनाउने लक्ष्य लिएको उहाँले बताउनुभयो । कृषिको व्यावसायिकताले युवालाई विदेश पलायन हुनबाट रोकी यही स्वरोजगार बनाउने, यहाँको पैसा तरकारीका नाममा अन्यन्त्र नजाँदा यहीँका जनाता आर्थिकरुपमा सवल हुने उहाँले बताउनुभयो ।

कमलामाई नगरपालिकाले ५० प्रतिशत अनुदानमा ६४ जना किसानलाई मिनी ट्रेलर र चार जना किसानलाई पावर ट्रेलर वितरण गरेको कृषि शाखाका सरोज फुयालले जानकारी दिनुभयो । यस आर्थिक वर्षमा नगरपालिकाले ५० प्रतिशत अनुदानमा एक सय ७० जनालाई टनेल प्लाष्टिक, ८५ जनालाई मौरीको घर र २५ मेट्रिक टन धानको बीउ वितरण गरेको उहाँले जानकारी दिनुभयो ।

कमलामाई नगरपालिकाले एक वडा एक उत्पादन कार्यक्रमअन्तर्गत हरेक वडामा एक बालीलाई प्राथमिकता दिइएको र कृषिको व्यावसायिक खेतीका लागि हरेक वडामा समूह र सहकारीमार्फत रु दुई लाख प्रदान गरिएको उहाँको भनाइ छ । कमलामाई नगरपालिकाले एक वडा एक उत्पादन अन्तर्गत वडा नं. १, ३, ४, ६, ७, १०, ११, १२ तरकारी, वडा नं २ मा अदुवा पकेट कार्यक्रम, वडा नं ५ मा ५ अदुवा वेसार, वडा नं ८ मा भुई कटहर, वडा नंं ९ मा लिचि र वडा नं १३ र १४ मा चैते धान खेतीलाई प्राथमिकता दिएको उहाँको भनाइ छ । रासस