फाइल तस्वीरः बागमती प्रदेशसभा
हेटौंडा — बागमती प्रदेशसभाको बैठक आज बस्दै छ । हिजो प्रमुख प्रतिपक्षी दलको लगातारको अवरोध पछि स्थगित हुनपुगेको बैठक आज सोमबार बिहान ११ बजे बस्न लागेको हो ।

बजेट वक्तव्यमा सत्तापक्षले प्रतिपक्षसँग सहमति जुटाउने सिलसिलामा हिजो आईतबार बसेको सर्वदलीय बैठकमा सहमति नजुटेपछि बैठक स्थगित भएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो ।


प्रमुख प्रतिपक्षी दल सहितका विपक्षी दलहरुको लगातारको अवरोधका कारण आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमाथि छलफल हुन सकेको छैन । आगामी आर्थिक वर्षको बजेटप्रति प्रतिपक्षी दलले विरोध जनाउँदै आएको छ ।

प्रदेशसभा सचिवालयका अनुसार सत्ता पक्ष र विपक्षी दलहरुबीच सहमतिको प्रयास गरिनेछ । दलहरुबीच बजेटमा सहमति जुट्नेमा आज बिहान ११ बजे बस्ने बैठक सञ्चालन हुनेछ । सहमति जुट्न नसकेमा आजको बैठक पनि हुने नहुनेमा संसय नै ।

यता प्रदेशसभाका सभामुख भुवनकुमार पाठक भने सत्तापक्षले प्रतिपक्षी दलसँग आज सहमति गरी विवाद टुङ्ग्याउने सम्भावना रहेको बताउँदै सत्तापक्ष र विपक्षी दलहरुबीच सहमति जुटेमा आज बैठक नियमित रुपमा सञ्चालन हुने बताउनुभएको छ । आगमी आर्थिक वर्षका लागि ल्याइएको बजेटप्रति स्वयम सत्ता पक्षीय सांसद्हरुले पनि असन्तुष्टि व्यक्त गरेका छन् ।