काठमाडौं — राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आगामी शुक्रबारसम्ममा प्रकाशित गर्ने तयारी गरेको छ । बोर्डका अनुसार अहिले नतिजा प्रकाशनको अन्तिम काम भइरहेको छ । परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठका अनुसार शुक्रबारसम्ममा नतिजा प्रकाशन गर्ने गरी काम भइरहेको छ । उहाँले भन्नुभयो, “अहिले परीक्षाफल प्रकाशित गर्नका लागि अन्तिम तयारी भइरहेको छ । शुक्रबार (साउन २२) सम्म परीक्षाफल सार्वजनिक गर्छौँ ।”

एसईईको नतिजा कुन लेटर ग्रेडिङ अनुसार प्रकाशित गर्ने भन्ने विषयमा अझै यकिन भइनसकेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । सरकारले १८ फागुन २०७८ मा संशोधन गरेको लेटर ग्रेडिङ निर्देशिका अनुसार सैद्धान्तिकतर्फ न्यूनतम ३५ र प्रयोगात्मकतर्फ ४० अङ्क ल्याउनैपर्नेछ । सैद्धान्तिकतर्फ कुनै विषयमा ३५ भन्दा कम अङ्क ल्याएमा एनजी (नन ग्रेडेड) लेखिने र कक्षा ११ पढ्न नपाउने व्यवस्था छ । एनजी लेखेको नतिजा भएका विद्यार्थीले मूल प्रमाणपत्र नपाउने व्यवस्था छ ।

बोर्डले गत वर्षको एसईईको नतिजा कोभिड–१९ को दोस्रो लहरका कारण पठनपाठन नियमित नभएको र वैकल्पिक सिकाइ प्रणाली पनि प्रभावकारी नभएको भन्दै ‘नन ग्रेडेड’ लागू नगर्ने निर्णय गरेको थियो । जस अनुसार शैक्षिक सत्र २०७८ को एसईईको नतिजा अक्षरांकन (ग्रेडिङ) विधि अनुसार भएको थियो । उक्त विधि अनुसार ‘ई’ ग्रेड पनि निर्धारण गरेर विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

परीक्षा नियन्त्रक (कक्षा १०) विष्णुनारायण श्रेष्ठले नतिजा सार्वजनिक हुनु अघि बोर्ड निर्णय गरे अनुसार नतिजा सार्वजनिक गरिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘त्यो बोर्डले गर्ने निर्णय हो । बोर्डले कुन ग्रेडिङ सिस्टमबाट नतिजा सार्वजनिक गर्ने निर्णय गर्छ त्यही अनुसार हुन्छ ।

गत वर्ष चैत १७ देखि २९ गतेसम्म एसईई परीक्षा भएको थियो । ७७ जिल्लाका दुई हजार ३६ परीक्षा केन्द्रमा सम्पन्न भएको परीक्षामा पाँच लाख विद्यार्थी सहभागी थिए ।