तस्वीर : धनबहादुर मास्की लुम्बिनी प्रदेशका अर्थमन्त्री ।
तुलसीपुर — लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले सहिदका नाममा खोलिएका शिक्षालय तथा विद्यालयलाई राजनीतिक पूर्वाग्रहले नहेरी सबैप्रति समान दृष्टिकोण राख्नुपर्ने बताउनुभएको छ । दाङको घोराहीस्थित सहिद कृष्णसेन स्मृति बहुप्राविधिक शिक्षालयको आज अवलोकन गर्दै उहाँले सहिदका नाममा खोलिएका यस्ता शिक्षालयलाई अझ सशक्त बनाउनुपर्नेमा जोड दिनुभयो ।

मन्त्री मास्कीले सहिद कृष्णसेन स्मृति बहुप्राविधिक शिक्षालयलाई अहिले प्रदेश सरकारले रु २० लाख उपलब्ध गराएको र आगामी दिनमा पनि आवश्यक बजेटको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउनुभयो । सहिदका नाममा खोलिएको उक्त शिक्षालयमा हाल डिप्लोमा तथा अन्य गरी १२ वटा प्राविधिक विषयको अध्यापन भइरहेको छ ।

त्यसक्रममा शिक्षालय प्रमुख अच्युतराज दाहालले शिक्षालयमा आवश्यक पूर्वाधार निर्माण भएकाले त्यसलाई सजावटका लागि बजेट आवश्यक रहेको बताउनुभयो । कृष्णसेनका नामबाट खोलिएको यो शिक्षालय नमुना शिक्षालय रहेको सहायक प्रमुख केशरमान विसीले बताउनुभयो ।

उहाँका अनुसार वि सं २०७५ देखि उक्त शिक्षालय सञ्चालनमा आएको हो । हाल सो शिक्षालयमा विभिन्न विषयमा तीन सय आठ विद्यार्थीले अध्यापन गरिरहेका छन् । हाल वन विज्ञान, फुड एण्ड डेरीलगायतका विषय अध्यापन भइरहेका छन् ।