फाइल तस्वीर
विराटनगर — कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि प्रक्रिया सुरु हुँदैछ । प्रदेश प्रमुख पर्शुराम खापुङले दलहरुसँग परामर्श गर्नुभएसँगै आज आईतबार नयाँ सरकार गठनको लागि आह्वान गर्दै प्रक्रिया अघि बढाउन लाग्नुभएको हो ।

कोशी प्रदेश एमाले संसदीय दलका नेता हिक्मतबहादुर कार्कीको नेतृत्वको सरकारले शुक्रबार प्रदेशसभाबाट विश्वासको मत पाउन नसकेपछि त्यहाँको सरकार ढलेको थियो । नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले आज बहुमत पुर्याउन सक्ने दललाई सरकार गठन गर्न आह्वान गर्ने तयारी गर्नुभएको छ ।

सङ्ख्याको कारण पनि संविधानको धारा १६८ को कुन उपधारा अनुसार सरकार गठनको आह्वान गर्ने भन्ने विषयमा प्रदेश प्रमुख खापुङले कानुनी परामर्श गर्नुभएको थियो । उक्त प्रदेशमा कुनै पनि दलको बहुमत नहुँदा सरकार गठनमा समस्या देखिएको छ ।

मुख्यमन्त्री कार्कीले शुक्रबार बसेको प्रदेशसभाको बैठकमा राख्नुभएको विश्वासको मतको प्रस्ताव फेल भएको थियो । विश्वासको मतका लागि ४७ मतको आवश्यक पर्दछ । मुख्यमन्त्री कार्कीले आफ्नो दल एमालेको ४० र राष्ट्रिय प्रजातन्त्र पार्टीको ६ मत गरी कुल ४६ मत प्राप्त गर्नुभएको थियो । कुल ९० प्रदेशसभा सदस्य रहेको कोशी प्रदेशमा एमाले ४० सिट सहित पहिलो, नेपाली काङ्ग्रेस दोेश्रो र नेकपा माओवादी केन्द्र तेश्रो दल छभ ने चौंथो ठूलो दलको रुपमा राप्रपा रहेको छ । राप्रपाको ६ जना सांसद् रहेका छन ।

एमालेलाई बहुमत पुर्याउन जति सजिलो छ, अन्य दललाई त्यति नै कठिन छ । राप्रपाले काङ्ग्रेस, माओवादी केन्द्रलाई साथ दिएमा नयाँ समीकरणमाको सरकार बन्न सक्नेदेखिन्छ । संविधानको धारा १६८ को उपधारा (२) अन्तर्गत बनेको मुख्यमन्त्री कार्की नेतृत्वको सरकार ढलेसँगै अब संविधानको सोही धाराको उपधारा (३) अनुसार आफ्नै नेतृत्वमा सरकार गठन हुनुपर्ने एमालेले बताउँदै आएको छ ।

यता काङ्ग्रेस माओवादीकेन्द्र सहितको विपक्षी गठबन्धन दलहरूले भने संविधानको धारा १६८ को (२) अनुसार नै सरकार गठनको सम्भावना जीवित रहेको कारण सोही अनुसार सरकार गठन हुनुपर्ने बताइरहेका छन् । यस विषयमा शुक्रबार नै दुवै पक्षले छुट्टा–छुट्टै समयमा प्रदेश प्रमुख खापुङसँग छलफल गरेका थिए ।

प्रदेश प्रमुखले आज नयाँ सरकार गठनको लागि दलहरुलाई आह्वान गर्ने तयारी भैरहेकाबेला उक्त प्रदेशका मुख्य तीन ठूला दलका नेताहरु पार्टीका शीर्ष नेतृत्वसँग परामर्श गर्न काठमाडौं पुगेको छन् ।