फाइल तस्वीर


विराटनगर — कोशी प्रदेशमा एमाले नेतृत्वको सरकार अल्पमतमा परेपछि नयाँ सरकार गठन गर्ने बारे प्रदेश प्रमुखले गृहकार्य सुरु गर्नुभएको छ । उक्त प्रदेशमा कुनै पनि दलको बहुमत नभएको हुँदा नयाँ सरकार गठनका लागि गृहकार्य सुरु गरिएको हो ।

प्रदेशसभा सचिवालयका अनुसार मुख्यमन्त्री पदमुक्त भएको जानकारी प्रदेश प्रमुखको कार्यालयलाई गराइसकेको छ । सचिवालयको पत्र आएपछि नयाँ सरकार गठनका लागि आह्वान गर्न प्रदेश प्रमुख पर्शुराम खापुङ परामर्शमा जुट्नुभएको छ ।

सत्ताच्युत भएपछि नेकपा एमालेले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभाको ठूलो दललाई नयाँ सरकार गठनका लागि आह्वान गर्न प्रदेश प्रमुख पर्शुराम खापुङलाई आग्रह गरेको छ ।

शुक्रबार मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले विश्वासको मत नपाएपछि मुख्यमन्त्रीसहित प्रदेश प्रमुखको कार्यालय पुगेका एमालेका सांसदहरूले संविधानको धारा १६८ को उपधारा २ प्रयोग भइसकेका कारण उपधारा ३ अनुसार अल्पमतको नयाँ सरकार गठनका लागि आह्वान गर्न सुझाएका छन् ।

संविधानको धारा १६८ को २ मा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था उल्लेख छ ।

सोही प्रावधानअनुसार बनेको एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकार ढलेका कारण उपधारा (३) अनुसार सरकार गठनका लागि आग्रह गरेको नेकपा एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताउनुभयो । उपधारा ३ मा प्रदेशसभामा सबैभन्दा बढी सदस्यहरू भएको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने उल्लेख छ । एमाले प्रदेशको सबैभन्दा ठूलो दल हो ।