तस्वीर : हिक्मतकुमार कार्की मुख्यमन्त्री कोशी प्रदेश ।
विराटनगर — कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत प्राप्त गर्न असफल हुनुभएको छ । प्रदेशसभाको आजको बैठकमा सभामुख बाबुराम गौतमले मुख्यमन्त्री कार्कीले राख्नुभएको विश्वासको मतमाथिको प्रस्तावका पक्षमा ४६ र विपक्षमा ४३ मत प्राप्त भएको जानकारी दिनुभयो ।

प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न कम्तीमा ४७ मत आवश्यक हुन्छ । प्रदेशसभामा आजको बैठकमा कुल सङ्ख्या ९३ मध्ये ८९ प्रदेशसभा सदस्य उपस्थित हुनुहुन्थ्यो ।

नेपालको संविधानको धारा १८८ को उपधारा २० तथा कोशी प्रदेशसभा नियमावली, ७४ को नियम १२८ (४) बमोजिम मुख्यमन्त्री कार्कीले प्रदेशसभामा बिहीबार उक्त प्रस्ताव पेश गर्नुभएको थियो । विश्वासको मत प्रस्तावमाथि बिहीबारको बैठकमा प्रदेशसभा सदस्यहरुले आफ्ना भनाइ राख्नुभएको थियो ।

आजको बैठकमा मुख्यमन्त्री कार्कीले प्रदेशसभा सदस्यहरुको प्रश्नको जवाफ दिँदै जनताले कुनै पनि दललाई स्पष्ट बहुमत नदिएको र दलहरु मिलेर नै सरकार बनाउनुको विकल्प नभएको बताउनुभयो । उहाँले त्यसअघि आफूलाई विश्वासको मत दिन आग्रह गर्नुभएको थियो । जनता समाजवादी पार्टीले मुख्यमन्त्रीको विश्वासको प्रस्ताव उपर तटस्थ बस्ने निर्णय गरेकाले पार्टीका एक मात्र प्रदेशसभा सदस्य निर्मला तावा लिम्बू आजको बैठकमा उपस्थित हुनुभएन ।