विराटनगर — मुख्यमन्त्री हिक्मतकुमार कार्की पद मुक्त हुनुभएको छ । प्रदेशसभाबाट आवश्यक बहुमत प्राप्त गर्न असफल भएपछि उहाँ पदमुक्त हुनुभएको हो । मुख्यमन्त्री कार्कीले पेस गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ४६ मत प्राप्त भएको छ । सरकारलाई निरन्तरता दिन ४७ मत आवश्यक थियो ।

विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा ४३ मत परेको छ । बैठकमा चार जना अनुपस्थित रहनुभएको थियो । कोशी प्रदेशसभामा कायम रहेको ९३ सदस्यमध्ये पक्षमा नेकपा एमालेको ४० र राप्रपाको ६ मत परेको थियो ।

विपक्षमा नेपाली काङ्ग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) का सांसदहरूले मत दिनुभएको थियो । मतदान प्रक्रियामा माओवादी केन्द्र र काङ्ग्रेसका एक–एक जना सांसद अनुपस्थित हुनुभएको थियो । जनता समाजवादी पार्टीका सांसद भने आजको बैठकमै उपस्थित रहनुभएन ।