गण्डकी प्रदेशको मुख्यमन्त्री कार्यालय।
पोखरा — सातै प्रदेशका मुख्यमन्त्री आज पोखरामा भेला हुँदैछन् । गण्डकी प्रदेशको अगुवाइमा सातै प्रदेशका मुख्यमन्त्री पोखरामा भेला हुन लागेका हुन् । प्रदेशले पाउनुपर्ने अधिकार, एकीकृत विकास मोडललगायत विषयमा भेलामा छलफल हुनेछ ।
मुख्यमन्त्रीहरूको भेलामा प्रदेश सरकारका समस्या सुन्न प्रधानमन्त्री पुष्पकमल दाहाल पनि आज पोखरा जानुहुने भएको छ । सम्मेलनको उद्घाटन सत्रमा प्रधानमन्त्री दाहाल शुक्रबार बिहान ११ बजे पोखरा जानुहुने तय भएको गण्डकी सरकारकी प्रवक्ता सरस्वती अर्याल तिवारीले जानकारी दिनुभयो । दुई दिने कार्यक्रम होटल पोखरा ग्राण्डमा हुनेछ ।
यो सम्मेलन जेठ १० मा गर्ने तय भएको थियो । तर, प्रधानमन्त्रीको व्यस्तताका कारण त्यतिबेला सम्मेलन स्थगित भएको थियो । मुख्यमन्त्रीहरूको भेला दोस्रोपटक हुन लागेको हो । पहिलो पटक २०७५ साल भदौ २१ र २२ गते गण्डकीका तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङको पहलमा भेला भएको थियो । त्यो भेलाले आठ बुँदे घोषणापत्र जारी गरेको थियो ।