फाइल तस्वीरः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की ।


विराटनगर — कोशी प्रदेशसभा बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफूलाई विश्वासको मत दिन आग्रह गर्नुभएको छ । आज बिहीबार प्रदेशसभामा विश्वासको मत माग्दै मुख्यमन्त्री कार्कीले आफूलाई विश्वासको मत दिन प्रदेशसभामा रहेका दलसँग आग्रह गर्नुभएको हो ।

मुख्यमन्त्री कार्कीले यदि आफुले प्रदेशसभाबाट विश्वासको मत नपाए अर्को सरकार पनि बन्न नसक्ने दाबी गर्दै, मध्यावधि निर्वाचनमा जाने बताउनुभएको छ ।

प्रदेशसभाको बैठकमा बोल्दै ‘आफुलाई विश्वासको मत नदिए मध्यावधि निर्वाचनको सामना गर्नुपर्छ, के मध्यावधि निर्वाचनमा जान हामी तयार छौं ? यो प्रदेशसभा तयार छ ? नेपालको संघीयता तयार छ ?’ भनि प्रदेशसभा बैठकलाई प्रश्न गर्नुभयो ।

आफू मुख्यमन्त्री भएको ६ महिनामा कहिँ पनि नचुकेको भन्दै आफूलाई विश्वासको मत नदिए त्यस्ता पार्टीप्रति आफुमा अविश्वास पैदा हुने चेतावनी दिनुभयो ।

मुख्यमन्त्री कार्कीले ‘तपाईहरुले यो सरकारलाई विश्वासको मत दिनै पर्छ, कि एजेण्डा गलत छ, काम गर्न सकेको छैन भन्नुप¥यो, होइन सबैकुरा ठीक छ भने विश्वासको मत दिनुस् भन्नुभयो । प्रदेश संरचनालाई मुखै देखाउन नसक्ने गरी बदनाम गर्ने प्रयास गरिएको भन्दै मुख्यमन्त्री कार्कीले त्यसप्रति विचार गर्न विपक्षी दलहरुलाई आग्रह गरे ।

प्रदेशसभाको सबैभन्दा ठूलो दल एमालेको ४० सिट भएता पनि आफ्नो दलले २ मन्त्री लिएर सरकार चलाउदा कुनै विवाद र समस्या नभएपनि साना दलमा विवाद देखिएको उल्लेख गर्नुहुँदै मुख्यमन्त्री कार्कीले पाँच वर्षसम्म राख्न नसकेको प्रदेशको नाम आफ्नो नेतृत्वमा राख्न सफल भएको दावीसमेत गर्नुभयो ।