फाइल तस्वीरः एमाले सचिव एवम् सांसद् योगेश भट्टराई ।


वराटनगर — प्रमुख विपक्षी दल नेपाल कम्युनिस्ट पार्टी एमालेका सचिव एवम् प्रतिनिधिसभा सदस्य योगेश भट्टराईमाथि आक्रमणको प्रयास भएको छ । एमाले सचिव भट्टराईमाथि इलाममा पहिचानवादी लिम्बुवान भोलेन्टियर्सका कार्यकर्ताले आक्रमणको प्रयास गरेका हुन् ।

कोशी नामाकरणको विपक्षमा आन्दोलनरत पक्षले एमाले नेता भट्टराई चढेको गाडीलाई इलाममा रोक्दै उहाँविरुद्ध नाराबाजी गरेका थिए । तात्कालीन प्रदेश नम्बर १ को कोशी नामाकरण गरिएपछि उक्त प्रदेशको नामाकरण खारेज गर्न पहिचानवादीहरुले आन्दोलन गर्दै आएका छन् ।

कोशी नामकरणविरुद्ध आन्दोलनमा रहेको समूहले नामकरणको पक्षमा रहेका व्यक्ति र सांसद्विरुद्ध पटक पटक प्रदर्शन, नाराबाजी र अवरोध गर्दै आएका छन् ।

एमाले सचिव भट्टराई ७२ औँ मदन भण्डारी जन्मजयन्तीको अवसरमा आजको लोकतन्त्र, उपलब्धि र चुनौती विषयक अन्तरसंवाद कार्यक्रममा भाग लिन इलाम पुग्नुभएको थियो । उक्त कार्यक्रमलाई सचिव भट्टराई र नेपाली काङ्ग्रेस नेता गुरुराज घिमिरेले सम्बोधन गर्ने कार्यक्रम रहेको थियो ।

नेता भट्टराईलाई आक्रमण गर्ने प्रयास गरेका पहिचान पक्षधर कार्यकर्तालाई सशस्त्र प्रहरीले रोक्ने प्रयास गरेको थियो । यद्यपि भट्टराई चढेको गाडीलाई रोक्दै उनीहरुले पहिचान विरोधी होसियार भन्दै कालो झण्डा प्रदर्शन गरेका थिए ।