फाइल तस्वीर

काठमाडौं — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले निजी विद्यालयले पनि सरकारी स्कूल सरह शिक्षकहरूलाई तलब भत्ता दिनुपर्ने बताउनुभएको छ । संस्थागत (निजी) विद्यालयले शिक्षकहरूलाई कानुनसम्मत तलब नदिएको गुनासो आएपछि महानगरप्रमुख साहले शिक्षकहरूको तलब सार्वजनिक गर्दै सोही अनुसार व्यवस्था गर्नुपर्ने बताउनुभएको हो ।

उहाँले काठमाडौं महानगरपालिकामा संस्थागत (निजी) विद्यालयका शिक्षकहरूको तलब सामुदायिक विद्यालयको भन्दा न्यून भएको गुनासो आउने गरेको बताउनुभयो ।

‘शिक्षा ऐन, २०२८ को दफा १२ (७) (छ) मा संस्थागत विद्यालयको शिक्षकलाई पनि नेपाल सरकारले तोकिदिएको तलब स्केल नघटाई तलब दिनुपर्ने भनी उल्लेख गरिएको छ । महानगरप्रमुख साहले भन्नुभएको छ, ‘यस्तै काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ६८ मा शिक्षक तथा कर्मचारीको तलब भत्ता, निवृत्तिभरण, उपदान लगायतका अन्य सुविधा खाइपाइ आएकोमा नघट्ने गरी सङ्घीय शिक्षा कानूनमा तोकिए बमोजिम हुने उल्लेख गरिएको छ ।’

महानगर प्रमुख साहले सोही बमोजिम काठमाडौं महानगरपालिकाका सामुदायिक विद्यालयका शिक्षकहरूले प्राप्त गर्ने तलब सुविधा संस्थागत विद्यालयको शिक्षकलाई पनि प्राप्त गराउन काठमाडौं महानगरपालिकाका सम्पूर्ण संस्थागत विद्यालयहरूलाई सूचित गरिएको भन्दै तलब स्केल सार्वजनिक गर्नुभएको छ ।
उहाँले सामाजिक सञ्जाल ट्वीटर मार्फत् गर्नुभएको सार्वजनिक तलब स्केलअनुसार माध्यामिक प्रथम श्रेणी सुरु तलब ५६ हजार ७८७, माध्यामिक दोस्रो श्रेणी ४८ हजार ७३७, माध्यामिक तृतीय श्रेणी ४३ हजार ६८९, निम्न माध्यामिक तक प्रथम श्रेणी ४५ हजार ८६२, द्वितीय श्रेणी ४३ हजार ६८९, तृतीय श्रेणी ३४ हजार ७३० रहेको छ ।

Image

यस्तै, प्राथमिक तह प्रथम श्रेणी ४३ हजार ६८९, द्वितीय श्रेणी ३४ हजार ७३० र तृतीय श्रेणी ३२ हजार ९०२ रुपैयाँ रहेको छ । महानगर प्रमुख साहले तोकिए अनुसारको तलब सुविधा प्राप्त नभएमा काठमाडौँ महानगरपालिका शिक्षा विभागमा सम्पर्क गर्न अनुरोध गर्नुभएको छ ।