काठमाडौं — कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मलकुमार कार्कीले आज विश्वासको मत लिनुहुने भएको छ । यसका लागि आज बिहिबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो । सरकारलाई समर्थन दिएको नेकपा (माओवादी केन्द्र)ले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले विश्वासको मत लिन लाग्नुभएको हो ।

कोशी प्रदेशसभामा नेकपा एमाले सबैभन्दा ठूलो दल हो । एमाले नेतृत्वको एक मात्र प्रदेश सरकारमाथि विश्वासको संकट उत्पन्न भएपछि मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने हुनुभएको हो ।

मुख्यमन्त्री कार्कीलाई एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले विश्वासको मत दिने जनाइसकेका छन् । राप्रपा र एमाले मिल्दा ४६ जना सांसदको समर्थन हुन्छ । कोशी प्रदेशसभामा सरकार बनाउन वा विश्वासको मत प्राप्त गर्न ४७ जना सांसद आवश्यक पर्छ ।

जनता समाजवादी पार्टी नेपालले विश्वासको मत दिएमा कोशी सरकार यथावत् रहनेछ । जसपा नेपालको एक मत छ । जसपा नेपाल नेतृत्वको मधेस प्रदेश सरकारका लागि विश्वासको मत दिएको एमालेले कोशीमा पनि विश्वासको मत पाउने अपेक्षा छ ।

हाल कोशी प्रदेशसभामा एमालेको ४०, नेपाली काङ्ग्रेसको २९, माओवादी केन्द्र (सभामुख सहित) १३, राष्ट्रिय प्रजातन्त्र पार्टीको ६, एकीकृत समाजवादीको ४ र जसपाको १ जना सांसद्ले प्रतिनिधित्व गरिरहनुभएको छ ।