फाइल तस्वीर
झापा — जिल्लामा टिस्यु कल्चर प्रविधिबाट केराका बिरुवा उत्पादन गर्न थालिएको छ । योसँगै भारत र वीरगञ्जबाट बिरुवा ल्याउनुपर्ने झन्झटबाट यहाँका किसान मुक्त भएका छन् । गौरादह नगरपालिका–२ र अर्जुनधारा नगरपालिका–३ मा टिस्यु कल्चर प्रविधिबाट जी–नाइन, विलियम हाइव्रेड र मालबोक जातका केराको बिरुवा उत्पादन गर्न थालिएको हो ।

जिल्लामा उत्पादित केराका बिरुवा यहाँको वातावरणमैत्री रहेकाले केरा कृषकका लागि उपयुक्त भएको कृषि ज्ञान केन्द्र झापाका सूचना अधिकृत गणेश शिवाकोटीले बताउनुभयो । उहाँका अनुसार सरकारले कृषि ज्ञान केन्द्र र स्थानीय तहमार्फत प्रदेश नं–१ लाई केरा खेतीमा आत्मनिर्भर बनाउन ब्लक र पकेट क्षेत्र सञ्चालन गरेको छ । 

केरा खेतीमा आत्मनिर्भर बनाउन थालिएको अभियानमा सहयोग पु¥याउने उद्देश्यले गौरादह नगरपालिकामा टिस्यु कल्चर प्रविधिबाट बिरुवा उत्पादन थालिएको बिरुवा उत्पादक संस्था फाइकस बायोटेक प्रालिका सञ्चालक दुर्लभ कार्कीले बताउनुभयो । हालसम्म सरकारबाट कुनै सहयोग नलिएको उहाँले बताउनुभयो । संस्थाले काठमाडौँको बूढानीलकण्ड नगरपालिका–२ र गौरादहमा उक्त प्रविधिको प्रयोग गरी केराका बिरुवा उत्पादन गरिरहेको उहाँले जानकारी दिनुभयो ।

सञ्चालक कार्कीले वि.सं २०७२ मा बूढानीलकण्ठमा ल्याब सुरु गरेको बताउँदै झापामा विसं २०७६ देखि सुरु गरेको बताउनुभयो । उहाँले तत्कालीन राष्ट्रिय आलु विकास कार्यक्रमको ५० प्रतिशत र संस्थाको ५० प्रतिशत लगानी ल्याब सञ्चालनमा ल्याएको जानकारी दिनुभयो । उहाँका अनुसार ल्याबका लागि रू दुई करोड लगानी गरिएको छ ।

“ल्याबबाट वार्षिक ८० हजार केराको बिरुवा र एक लाख आलुको बिरुवा उत्पादन हुने गरेको छ”, सञ्चालक कार्कीले भन्नुभयो, “टिस्यु कल्चर प्रविधिबाट बिरुवा उत्पादन गर्दा एकै पटक सामूहिक उत्पादन गर्न सकिने र कीटाणुरहित बिरुवा उत्पादन हुन्छ ।” यस प्रविधिबाट उत्पादन गरिने बिरुवाको कोषलाई हुर्काउन ल्याबमै ३५ दिनसम्म राख्नुपर्ने उहाँले बताउनुभयो । वातावरण सुहाउँदो बायोटेक नर्सरीमा ल्याबबाट निकालेर झन्डै दुई महिनासम्म बिरुवा हुर्काएपछि मात्र रोप्न योग्य हुने उहाँको भनाइ छ ।

कार्कीले भन्नुभयो, “झन्झटिलो भए पनि यस्तो बिरुवाबाट उत्पादन गरिएको केराको बोटमा फल राम्रो लाग्छ र किसानले राम्रो आम्दानी गर्न सक्छन् । भारतबाट सस्तो मूल्यमा आयातीत बिरुवाका कारण कहिलेकाहीँ बजारीकरणमा समस्या छ ।” उहाँका अनुसार ल्याबमा हाल १० जना स्थानीयले रोजगारी पाएका छन् । 

यहाँ उत्पादित केराको बिरुवा जिल्लामै खपत हुँदै आएको कार्कीले बताउनुभयो । भारतबाट आउने सस्तो मूल्यको बिरुवाका कारण कहिलेकाहीँ विक्रीमा भने समस्या हुने गरेको छ । 

नर्सरीबाट जी नाइन, विलियम हाइव्रेड जातको बिरुवा प्रतिगोटा रू ३५ र मालबोक केराको बिरुवा प्रतिगोटा रू ६५ ले बिक्री गर्दै आएको कार्कीले जानकारी दिनुभयो ।  किसानले चैतदेखि भदौसम्म बिरुवा रोप्ने गरेका छन् ।