तस्वीरः ललिता निवास जग्गा हिनामिना प्रकरणकाअभियुक्त


काठमाडौं — ललिता निवास जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी) ले हिजो मङ्गलबार पक्राउ गरेका अभियुक्तहरुलाई म्याद थपका लागि आज बुधबार जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा लगिएको छ । हिजो पक्राउ गरिएका पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह, व्यापारी मीनबहादुर गुरुङलगायतलाई हिरासतमा राख्ने अनुमति लिन प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा लगेको हो ।

सरकारी लिखत किर्ते गरेर बालुवटारस्थित ललिता निवासको जग्गा हिनामिना गरेको कसुरमा सीआईबीले पूर्व निर्वाचन आयुक्त शाह, व्यापारी गुरुङ, सरकारका निवृत्त सहसचिव कलाधर देउजालगायत सात जनलाई पक्राउ गरेको थियो । पक्राउ भएका मध्ये पहिले नै अदालतबाट ‘स्टे अर्डर’ लिएका मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन, प्रमुख निवृत्त सहसचिव कलाधर देउजा, सुरेन्द्रमान कपाली, र हुपेन्द्रमणि केसीलाई कागज गराएर रिहा गरेको छ ।

आज जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा हिरासतमा राखी थप अनुसन्धान गर्न म्याद थपका लागि लगिएकामा पूर्व आयुक्त सुधीर शाह, व्यवसायी मीनबहादुर गुरुङ, तत्कालीन शाखा अधिकृत धर्मप्रसाद गौतम र तत्कालीन खरिदार गोपाल कार्की रहेका छन् । बुधबार म्याद थपका लागि सरकारी वकिलको कार्यालय लगिएका अभियुक्तहरुले हातमा सलाइन पानी बोकेको देखिन्थ्यो । आज हिरासतमा राख्न म्याद थप भएपछि उनीहरुलाई जिल्ला अदालत काठमाडौंमा लगिने प्रहरीले बताएको छ ।

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्दा सरकारी कागजात कीर्ते गरेको आरोपमा सीआईबीले लामो समयदेखि अनुसन्धान गरिरहेको छ ।

उक्त जग्गामा नक्कली मोही खडा गरेर, गुठी खडा गरेर जग्गा हिनामिना भएको सिआईबीले जनाएको छ । ललिता निवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट दायर भएको मुद्दा समेत विचाराधीन छ ।

ललिता निवास जग्गा प्रकरणमा हदम्याद नाघेकोले आरोपीहरुप्रति कारवाही नहुने एकथरिले बताइरहेका बेला सिआईबीले भने कीर्तेमा हदम्याद नलाग्ने बताएको छ । सिआईबीका अनुसार नयाँ मुलुकी ऐन जारी हुनुअघिकै अवस्थाको कानुनका आधारमा मुद्दा दायर हुनेछ । बालुवाटारस्थित ललिता निवासको एक सय १३ रोपनी सरकारी जग्गालाई व्यक्तिको नाममा कायम गर्न तात्कालिन मन्त्रिपरिषद्ले समेत निर्णय गरेको छ । ललिता निवासको उक्त जग्गामध्ये भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङको नाममा मात्रै २९ रोपनीभन्दा धेरै जग्गा दर्ता भएको बताइएको छ ।


सिआईबीद्वारा आयोजित पत्रकार सम्मेलनमा सिआईबीका एसएसपी दिनेश आचार्यले २०४७ पछि चरणचरणमा ललिता निवासको १४३ रोपनी जग्गा हिनामिना भएको उल्लेख गर्नुभएको थियो ।