फाइल तस्वीर
बनेपा—काभ्रेपलाञ्चोकको कोशिपारिस्थित चौरीदेउराली गाउँपालिकाले शैक्षिक क्षेत्रमा सुधार गर्दै पालिकालाई ‘उत्कृष्ट शैक्षिक गन्तव्य’ बनाउने नीतिलाई अगाडि सारेको छ । गाउँपालिका अध्यक्ष रेणुका चौलागाईंले आर्थिक वर्ष २०८०/८१ को नीति कार्यक्रम सार्वजनिक गर्दै ‘उत्कृष्ट शैक्षिक गन्तव्यका लागि चौंँरीदेउराली’ भन्ने लक्ष्य प्राप्तिका लागि सरकारी शैक्षिक संस्थाबाट प्रदान गर्ने शिक्षालाई थप गुणस्तरीय र सर्वसुलभ बनाउन प्राज्ञिक संस्थासँग सहकार्य र साझेदारी गरेर अगाडि बढ्ने योजना अगाडि सारेको हो । गाउँपालिकाले शैक्षिक प्रणालीमा रुपान्तरण ल्याउन पाठ्यक्रम विकास, पठनपाठनको व्यवस्थापन, अतिरिक्त क्रियाकलाप व्यवस्थपान, शैक्षिक पात्रो व्यवस्थापन, अद्याविधक स्रोत व्यवस्थापन, विद्यालय–अभिभावकबीचको सञ्चार व्यवस्थापनलाई जोड दिने भएको छ ।

यसका लागि अनलाइन शिक्षण तथा सिकाइ र दस्तावेजीकरण लगायतका क्षेत्रमा सूचना प्रविधिको प्रभावकारी उपयोग गरी सबै सामुदायिक विद्यालयमा शैक्षिक व्यवस्थापन सूचना प्रणाली ९ई एम आइएस० लागू गर्ने नीति अवलम्बन गरिने अध्यक्ष चौलागाईंले बताउनुभयो । लिएको नीतिलाई प्रभावकारी बनाउनका लागि पालिकाले ‘एक विद्यालय, एक उत्पादन’ कार्यक्रमको सम्भाव्यता अध्ययन गरी कार्यान्वयन गरिने भएको छ ।

गाउँपालिकाभरिका सामुदायिक विद्यालयमा विद्यार्थीको नियमित स्वास्थपरीक्षण गर्ने कार्यलाई व्यवस्थित गरिने र सामुदायिक विद्यालयमा विद्यार्थीको नियमित स्वास्थ्य परीक्षण गर्ने कार्यलाई व्यवस्थित गरिनेछ नीति लिएको छ । त्यस्तै तीन वर्षभित्र गाउँपालिकाभित्रका विद्यालयलाई आवासीय विद्यालयको रुपमा विकास गर्न पहल गरिने र सबै सामुदायिक विद्यालयमा कक्षा ९ र १० मा पढने विद्यार्थीलाई आगामी शैक्षिक गन्तव्यको लागि परामर्श सेवा जस्ता जीवनवृति कार्यक्रम सञ्चालन गरिने जनाएको छ । शिक्षाको क्षेत्रमा सुधारसँगै कृषिमा निर्भर रहेको चौरीदेउराली गाउँपालिकाका किसानलाई व्यवसायीमुखी बनाउनका लागि फलफूल, तरकारी तथा अन्नबालीको पकेट क्षेत्र पहिचान गरी सघन कृषि क्षेत्र निर्धारण गर्ने र ती स्थानमा व्यावसायिक कृषि पकेट क्षेत्र निर्धारण गरिने नीति लिएको छ ।

त्यससँगै रैथाने बालीको बीउ संरक्षण, खेती विस्तार र बजारीकरणको लागि विशेष प्रबन्ध मिलाइने भएको छ ।पालिकाले गाउँपालिकाको विकास निर्माणको कामलाई व्यवस्थित गर्नका लागि समयमा नै योजना सम्पन्न गर्नेतर्फ प्राथमिकताका साथ काम गर्ने भएको छ । जसको लागि पुँजीगत खर्चको गुणस्तर बढाउन सार्वजानिक खरिदसम्बन्धी कानून बमोजिम ‘माघ मसान्तभित्र सम्झौता, जेठ मसान्तभित्र भुक्तानी’ को नीतिलाई कडाइका साथ कार्यान्वयन गरिने जनाएको छ ।

पालिकाबाट प्रवाह हुने सेवालाई व्यवस्थित बनाउनका लािग कागजविहीन प्रणाली बनाउन विद्युतीय प्रणालीमा जोड दिइने भएको छ । अगाडि सारिएको नीतिलाई जनमैत्री बनाउन नागरिकलाई सहजीकरण गर्न सहायता कक्ष राखी सेवा दिने व्यवस्थामा जोड दिएको छ । पुराना सल्लाका रुख विस्थापित गरी नयाँ प्रजातीका बोटबिरुवा लगाउन प्रोत्साहन गरिन नीतिलाई पालिकाले अगाडि सारिएको छ ।

वृक्षरोपण कार्यलाई निरन्तरता दिई प्रत्येक वर्ष गाउँपालिकाको जनसङ्ख्या बराबरको वृक्षरोपण गर्ने अभियानको सुरुवात गरी ‘जन्मदिन र अन्य समारोहमा वृक्षरोपण’ गर्न प्रोत्साहित गरिने भएको छ । प्रत्येक वडाले सामुदायिक वन, निजी वन, कवुलियती वन, संरक्षित वनलगायत सबै वन समूहलाई सक्रिय पर्यावरणीय एवं जैविक विविधतामा सन्तुलन कायम राख्न पहल गरिने जनाएको छ ।

‘हामीले तिरेको कर हाम्रै लागि, करदाताको सहभागिता विकास र समृद्धिको लागि’ भन्ने नाराका साथ गाउँबासीलाई कर तिर्नु बोझ नभइ आफ्नो दायित्व र कर्तव्य हो भन्ने कुरा प्रत्याभूत गरी करको दायरा विस्तार गर्ने नीति पालिकाले लिएको छ । युवा उद्यमशीलता विकासका कार्यक्रममार्फत युवालाई ‘विदेश होइन ब्यापार’ भन्ने भावना जागृत तुल्याई युवा लक्षित कार्यक्रम ल्याइने, उनीहरुको लागि पशु, कृषि, साना उद्योगमा राहतका कार्यक्रम सञ्चालन गरिने, विपन्न, गरिब र सुकुमबासी परिवारका युवालाई इलेक्ट्रोनिक्स सामग्री मर्मत, प्लम्विङ तथा इलेक्ट्रिसियन, ब्युटिपार्लर, होटल म्यानेजमेन्ट, ड्राइभिङ, व्यावसायिक पशुपालन तथा तरकारी खेती जस्ता तालिम प्रदान गरी गरिबी न्यूनीकरण र जीविकोपार्जनमा सहजीकरण गरिने र ‘अध्यक्षसँग गृहिणी महिला’ कार्यक्रम सञ्चालन गरी पिछडिएका महिलाको पहुँचलाई सुनिश्चितता गर्न आवश्यक व्यवस्था मिलाइने लगायतका कार्यक्रम अगाडि सारिएको अध्यक्ष चौलागाईंले बताउनुभयो ।
त्यसरी अगाडि बढाइएको कार्यलाई आम नागरिकमाझ पु¥याउन गाउँपालिकाको काम कारबाहीलाई व्यवस्थित, पारदर्शी तथा सम्पूर्ण नागरिक समक्ष पु¥याउन ‘हाम्रो चौंँरीदेउराली’ नामक मोबाइल एप्स निर्माण गरी वडापत्र, सूचना र गाउँपालिका प्रोफाइल आदिको जानकारी प्रदान गर्नुका साथै घरमा नै बसी अनलाइन सिफारिस लिने व्यवस्था मिलाइने नीति अगाडि सारेको उहाँले बताउनुभयो ।
गाउँपालिकाले अहिलेसम्म दीगो विकासको क्षेत्रमा राष्ट्रिय लक्ष्यको स्थानीयकरण गर्दै गुणस्तरीय पूर्वाधार निर्माणसहित स्थानीय स्रोतको पहिचान र परिचालन गरी समावेशी, जलवायु उत्थानशील तथा दिगो स्थानीय आर्थिक विकासमार्फत समृद्ध गाउँपालिका र सुखी जनताको लक्ष्य हासिल गर्न सार्वजनिक, निजीक्षेत्र र समुदायको साझेदारी विकास कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ । गाउँपालिकाभित्रका विभिन्न रणनीतिक सडक कालोपत्र गर्ने कार्यको थालिएको, तीन वटा वडा कार्यालय, स्वास्थ्य संस्था, सबै सामुदायिक विद्यालयमा निःशुल्क फाइवर नेट जडान कार्य सम्पन्न भएको, गाउँपालिकाभित्रका सबै विद्यालयमा कक्षा १ देखि ८ सम्म गाउँपालिकाको स्थानीय पाठ्यक्रम निर्माण गरी पठनपाठन कार्य सुरु गरिएको, पर्यटन विकासको लागि गाउँपालिकाको पर्यटन गुरुयोजना निर्माण गरिएको विषयलाई उपलब्धिको रुपमा लिएको छ ।

त्यसैगरी गाउँपालिकाभित्रका आधारभूत र माध्यमिक विद्यालयमा सुविधा सम्पन्न आईसिटी ल्याब, विज्ञान प्रयोगशाला र पुस्तकालयको व्यवस्था भएको, गाई तथा भैँंसीपालक किसानका लागि प्रोत्साहनस्वरुप सुत्केरी भत्ता प्रदान गरिएको, किसानलाई रासायनिक मल ढुवानीमा शतप्रतिशत अनुदान दिइएको गाउँपालिकाले जनाएको छ । यसैगरी किसानलाई पशु बीमा कार्यक्रममा ५० प्रतिशत अनुदान दिइएको, विपन्न नागरिक औषधि उपचारका लागि एक सय २३ जनालाई सिफारिस गरिएको, शहीद तथा बेपत्ता परिवारका सदस्यलाई मासिक रुपमा राहतस्वरुप रु तीन हजार आर्थिक सहायता उपलब्ध गराइएको र ३० भन्दा बढी पुरातात्विक तथा ऐतिहासिक महत्वका मठमन्दिर, छ्योर्तेन र गुम्बा निर्माण तथा पुनःनिर्माण भएको लगायतका विषय पालिकाको उलब्धिको रुपमा लिइएको छ ।