तस्वीरः प्रतिनिधिसभा बैठकमा जवाफ दिनेक्रममा प्रधानमन्त्री प्रचण्ड ।
काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यस वर्ष रासायनिक मलको समस्या नभएको बताउनुभएको छ । प्रतिनिधिसभाको आज बुधबारको बैठकमा बजेटमाथि सांसद्हरुले उठाउनुभएको प्रश्नको जवाफ दिंदै प्रधानमन्त्री प्रचण्डले आफु सरकारमा आएपछि रासायनिक मलको अभाव हटाएको दावी गर्नुभएको हो ।

प्रधानमन्त्रीले बैठकमा बोल्दै यो आर्थिक वर्षमा ७८ दशमलव ५ मेट्रिकटनको आपूर्ति निश्चित भएको र सरकारले एक लाख ९५ हजार ९ सय मेट्रिकटन मल आयात गरेको भन्नुहुँदै किसानहरुलाई एक लाख ४५ हजार ९ सय मेट्रिकटन मल वितरण भइसकेको सदनलाई जानकारी गराउनुभयो ।

सदनमा बोल्दै प्रधानमन्त्रीले भन्नुभयो ‘मलको हाहाकार हुने कुरा सञ्चार माध्यमका हेडलाइन बन्थे । तर, त्यसलाई बदलेर मल अभाव नहुने अवस्था बनाएका छौं,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यो पूर्ण होइन तर अभावको चरम अवस्था हटायौं ।’

सोही क्रममा प्रधानमन्त्री प्रचण्डले आगामी आर्थिक वर्षका लागि पनि मलको अभाव हुन नदिन ३० अर्ब रुपैयाँ विनियोजन गरेको कुरा सदनलाई जानकारी गराउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले देशमै रासायनिक मल उद्योग खोल्नका लागि लगानी बोर्डले अध्ययन गरिरहेको सदनमा सांसद्हरुको जानकारी गराउभन्दै भारतसँग आपसी सहकार्यमा मल कारखाना खोल्ने विषयमा छलफल भएको जानकारी गराउनुभएको थियो ।