फाइल तस्वीर
काठमाडौं — काठमाडौं महानगरपालिकाले सहकारी संस्थालाई साधारणसभा र लेखापरीक्षणलगायतका विवरण ३० दिनभित्र बुझाउन निर्देशन दिएको छ । आज बुधबार एक सूचना सार्वजनिक गर्दै महानगरले कानूनी व्यवस्था हुँदाहुँदै पनि केही सहकारी संस्थाले साधारणसभाको जानकारी, लेखापरीक्षण प्रतिवेदनलगायतका विवरणहरु समयमै पेस नगरेकाले पेस गर्न निर्देशन दिएको हो ।

महानगरले तोकिएको ३० दिनभित्र विवरण नबुझाए कानून बमोजिम कारबाही गरिने समेत उल्लेख गरेको छ । ‘काठमाडौँ महानगरपालिका सहकारी ऐन, २०७४ को दफा २८ को उपदफा २ ले संस्थाको साधारण सभा प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले ६ महिनाभित्र बोलाउनुपर्ने, दफा ५४ को उपदफा १ ले आर्थिक वर्ष समाप्त भएको मितिले बढीमा तीन महिनाभित्र प्रचलित कानून बमोजिम इजाजत प्राप्त लेखा परीक्षकबाट संस्थाको प्रत्येक आर्थिक वर्षको लेखा परीक्षण गराउनुपर्ने र दफा ५२ ले तोकिए बमोजिमका विवरणहरु बुझाउनुपर्ने व्यवस्था छ ।

महानगरले सार्वजनिक गरेको सूचनामा उल्लेख गरेको छ — ऐनको दफा ७९ ले विभिन्न कसुरजन्य कार्यहरु, दफा ८१ ले सजाय, दफा ८२ले जरिवाना र दफा ६६ ले सहकारीको बिघटन वा दर्ता खारेजीको व्यवस्था समेत गरेको छ ।’