संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेससँग बिदाइ भेट गर्नुहुँदै अमृतबहादुर राई ।
पत्रपत्रिकाबाट
काठमाडौं — नेपालका तर्फबाट संयुक्त राष्ट्रसङ्घका लागि स्थायी प्रतिनिधि अमृतबहादुर राई चारवर्षे कार्यकाल सकेर स्वदेश फर्कने तयारीमा हुनुहुन्छ । उहाँले आफ्नो चारवर्षे कार्यकालको भरपूर रूपमा उपयोग गर्नुभएको छ । सोमबार आफ्नो कार्यकाल सकेको दर्शाउँदै उहाँले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेससँग बिदाइको हात मिलाउनुभयो ।

कार्यकालको अन्तिम भेटमा पनि उहाँले नेपाल–संयुक्त राष्ट्रसङ्घको सम्बन्ध र सहकार्यका विषयमा गहन छलफल गर्न छुटाउनुभएन । आगामी दिनमा गर्न सकिने सहकार्यलाई स्वदेश फर्किएपछि यतैबाट पहल गर्ने प्रतिबद्धतासमेत स्थायी प्रतिनिधि राईले जनाउनुभयो । महासचिव गुटेर्रेसले राईको सफल कार्यकालको प्रशंसा गर्दै सम्बन्धलाई थप बलियो बनाउन पहल नछाड्न अनुरोध गर्नुभयो ।

चार दिनअघि मात्र उहाँले अतिकम विकसित मुलुकको राजदूतस्तरीय बैठकको अध्यक्षका रूपमा सहभागिता जनाउँदै गर्दा उहाँले त्यो समूहको हितको संरक्षण र प्रवर्धनमा निरन्तर सघाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। उहाँले अतिकम विकसित मुलुकका तर्फबाट रणनीतिक प्राथमिकता विषयक प्रस्तुति दिनुभयो। अतिकम विकसित मुलुकहरूले आफ्नो सामथ्र्य र शक्तिको प्रभावकारी कार्यान्वयनका लागि अपनाउनुपर्ने मार्गदिशाबारे सो बैठकमा बहस भएको थियो ।

अतिकम विकसित मुलुक तथा भूपरिवेष्टित विकासोन्मुख मुलुक तथा साना टापु राष्ट्रका लागि संयुक्त राष्ट्रसङ्घीय उच्च प्रतनिधि फातिमा रबाबले उहाँको कामको उच्च प्रशंसा गर्दै ती मुलुकको सङ्गठनात्मक अध्यक्षताका रूपमा राईको उपस्थिति उच्चस्तरीय रहेको औँल्याउनुभयो। कामलाई दिने गरेको प्राथमिकता र विषयगत प्रभावकारिताको स्तर निकै उच्चस्तरीय रहेको पनि रबाबले सामाजिक सञ्जालमार्फत प्रस्ट्याउनुभएको छ ।

नेपाल सन् १९५५ डिसेम्बर १४ मा संयुक्त राष्ट्रसङ्घको सदस्य बनेको हो। पहिलो प्रतिनिधिका रूपमा ऋषिकेश शाह सन् १९५६ मा राष्ट्रसङ्घ पुग्नुभएको थियो। राई १३ औँ प्रतिनिधिका रूपमा सन् २०१९ मार्च ४ तारिखमा न्युयोर्क पुग्नुभएको हो। उहाँले संयुक्त राष्ट्रसङ्घका चार वटा महासभामा नेपालका तर्फबाट प्रतिनिधित्व गर्नुभयो ।

स्थायी प्रतिनिधि राईको कार्यकाल अप्ठ्यारो परिस्थितिमा बित्यो। कोभिड–१९ को महामारीले विश्व नै आक्रान्त बनेका बेला आफ्नो कार्यकालका ऊर्जाशील समयमा उहाँले कोभिडविरुद्धको खोपमाथि नेपालको पहुँचका लागि निरन्तर पहल गर्नुभयो। फलस्वरूप कोभ्याक्स अनुदानको खोपसहित युरोपेली मुलुकबाट खोपको सहज आपूर्ति भयो ।

हाल नेपालले दोस्रो कार्यकाल २०२१–२०२३ का लागि संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को सदस्यको पदभार ग्रहण गरेको छ। निर्वाचनमा उहाँले गर्नुभएको पहलका कारण सफलता पाउन सक्यो। त्यस्तै सिड कमिटीको सदस्य तथा आर्थिक तथा सामाजिक परिषद् अन्तर्गत एसिया प्रशान्त समूहको सदस्यमा नेपाललाई निर्वाचित गराउन उहाँको योगदान अतुलनीय रहेको कूटनीतिक विज्ञहरू बताउनुहुन्छ ।

त्यस क्रममा उहाँले सेन्डाई फ्रेमवर्कको पुनरवलोकनसम्बन्धी उच्चस्तरीय बैठकको नेतृत्व गर्दै आवश्यक कार्यदिशाका लागि मार्गनिर्देश गर्नुभयो, जुन नेपालकै लागि ठुलो प्रतिष्ठाको विषय हो ।

प्रतिनिधि राईले आफ्नो कार्यकालका क्रममा नेपालको द्विपक्षीय सम्बन्ध विस्तार गर्न सुझबुझका साथ काम गर्नुभयो। जस अनुसार चार वर्षभित्र १७ वटा मुलुकसँग द्विपक्षीय सम्बन्ध स्थापना भएको छ । यसले नेपाल जस्तै र नेपालभन्दा बलियो आर्थिक अवस्था भएका युरोपेली मुलुकसँग गाँसिएको सम्बन्धले नयाँ साझेदारीको ढोका खुला भएको छ । नेपालले अहिलेसम्म १८१ मुलुकसँग औपचारिक कूटनीतिक सम्बन्ध कायम गर्न सकेको छ । (आजको गोरखापत्र दैनिकबाट)