फाइल तस्वीरः नेपाली राष्ट्रिय फुटबल टिम ।


काठमाडौं — भारतको बैङ्गलुरमा जारी साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता अन्तर्गत आज मङ्गलबार भएको खेलले नेपालले सान्त्वना जित निकालेको छ । पहिलो चरणबाटै साफ च्याम्पियनसिपमा बाहिरिएका दुवै टिमबीच भएको आजको प्रतिस्पर्धात्मक खेलमा नेपालले पाकिस्तानलाई १-० गोलले हराउँदै जित दर्ता गरेको हो ।

यस अघि भएका दुई खेलमा नेपाल पराजित भएको थियो । कुवेत र आयोजक राष्ट्र भारतसँग पराजय व्यहोरेको नेपालले आफ्नो अन्तिम खेलमा भने पाकिस्तानमाथि सङ्र्घषपूर्ण जित निकालेको छ। जारी साफ च्याम्पियनसिपमा नेपालको यो पहिलो जित हो । नेपालका लागि निर्धारित समयको ८०औं मिनेटमा आशिष चौधरीले पहिलो गोल गरेका हुन् ।

आशिषले सिनियर राष्ट्रिय टोलीबाट पहिलो गोल गरेका हुन् । जारी साफ च्याम्पियनसिपमा भने नेपाली खेलाडीले गरेको यो दोस्रो गोल हो । यसअघि कुवेतविरुद्धको पहिलो खेलमा नेपालका लागि अनुभवी खेलाडी अञ्जन बिष्टले पहिलो गोल गरेका थिए ।

साफ च्याम्पियनसिपको १४ औं संस्करण भारतको बैङ्गलुरस्थित कांतिराव स्टेडियममा भएको खेलमा पहिलो हाफसम्म नेपाल र पाकिस्तान बराबरीमा रोकिएका थिए । दोस्रो हाफमा नेपालले खेलमा केही परिवर्तन गर्दै पाकिस्तानमाथि दबाब सिर्जना गरेता पनि नेपालले गोल गर्ने केही गतिला अवसरहरु खेर फाल्न पुगेको थियो ।

विश्व फुटबल महासंघ (फिफा) को पछिल्लो वरीयतामा नेपाल १७४ औं र पाकिस्तान १९५ औं स्थानमा छन् । नेपाल र पाकिस्तान दुबैले समूहगत चरणको आफ्नो अन्तिम खेलेका हुन् । यी दुवै टिम यसअघि नै उपाधिको होडबाट बाहिरिइसकेका छन् ।

उक्त समूहबाट आयोजक भारत र कुवेत सेमिफाइनलमा पुगेका छन् । नेपाल आफ्नो पहिलो खेलमा कुवेतसँग ३—१ गोलले पराजित भएको थियो । दोस्रो खेलमा भारतले नेपाललाई २—० गोलले हराएको थियो । पाकिस्तान भने आफ्नो पहिलो खेलमा भारतसँग ४—० गोलले हारेको थियो । दोस्रो खेलमा कुवेतले पाकिस्तानलाई ४—० गोलले हराएको थियो ।

साफ च्याम्पियनसिप दक्षिण एसियाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता हो । पुरुष साफ च्याम्पियनसिपमा यस पटक साफ च्याम्पियनसिपमा आठ वटा राष्ट्रको सहभागिता रहेको छ । प्रतियोगितामा नेपालसहित आयोजक भारत, बङ्गलादेश, भुटान, पाकिस्तान, मालदिभ्स, कुवेत र लेबनानले प्रतिस्पर्धा गर्दैछन् ।

फिफाको प्रतिबन्धमा परेका कारण श्रीलंकाले भने यो संस्करणमा सहभागिता जनाउन पाएन । यस पटक कुवेत र लेबनानलाई भने आमन्त्रित टोलीको रूपमा सहभागी गराइएको हो । नेपाल साफ च्याम्पियनसिपको साविक उपविजेता टोली हो ।

सबैभन्दा बढी साफ च्याम्पियनसिपको उपाधि जित्ने राष्ट्र भारत हो । साविक विजेतासमेत रहेको भारतले हालसम्म आठ पटकसाफ च्याम्पियनसिपको उपाधि जितेको छ । मालदिभ्सले दुईपटक साफ च्याम्पियनसिप जितेको छ । बङ्गलादेश, श्रीलङ्का र अफगानिस्तानले भने एक—एक पटक उपाधि जितेका छन् । अफगानिस्तान यस पटक प्रतियोगितामा सहभागी छैन । नेपालले पनि अहिलेसम्म उपाधि जित्न सकेको छैन ।