तस्वीर : सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी र कोरियाली राजदूत पार्क टियोङ्ग
काठमाडौं — सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीसँग नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क टियोङ्गले आज मन्त्रालयमा शिष्टाचार भेट गर्नुभएको छ । सो भेटमा मन्त्री मोदीले नवनियुक्त राजदूत टियोङ्गलाई कार्यकालको सफलताको शुभकामना व्यक्त गर्नुभएको हो ।

सो भेटमा मन्त्री मोदीले कोरिया र नेपालबीचको सम्बन्ध मैत्रीपूर्ण रहिआएको बताउँदै यस सम्बन्धलाई थप सुदृढ बनाउन नेपालका विभिन्न स्थानीय तह र दक्षिण कोरियाका सहरबीच भगिनी सम्बन्ध स्थापना गर्न इच्छुक रहेको बताउनुभयो । भेटमा राजदूत टियोङ्गले नेपाल र कोरियाबीचको जनस्तरको सम्बन्धको चर्चा गर्दै आफ्नो कार्यकालमा द्विपक्षीय सम्बन्ध र सहयोग थप प्रागाढ र सुदृढ बनाउन लागिपर्ने बताउनुभयो ।

त्यस अवसरमा राजदूत टियोङ्गले मन्त्री मोदीको कोरिया भ्रमणको सफलताको कामना गर्नुभयो । मन्त्री मोदी कोरियाको दोस्रो ठूलो सहर बुसानमा यही असार २० गतेबाट आयोजना हुन लागेको मन्त्रीस्तरीय एक बैठकमा सहभागी हुन त्यसतर्फ जाँदै हुनुहुन्छ ।