जिन्दगी सोचेजस्तो, देखेजस्तो कहाँ रहेछ र ? चाहेका कुरा कहाँ पूरा हुँदा रहेछन् र ? तर पनि चाहना र आशा गर्नु मानवीय जीवनको सार्थकता हो । गर्न बाँकी त कैयौं छन् । ती सबै चाहनाहरु पूरा गर्न उत्साह, उमङ्ग, खुशी र ऊर्जा चाहिँदो रहेछ । एउटा पूरा गर्यो अर्को थपिन्छ । तथापि, चाहना र आवश्यकता सबै पूरा गर्न म तिमी र तिम्रो मायामा मात्रै सम्भव देख्छु । यो मनको तिर्सना न हो, पूरा हुने नहुने त व्यवहारमा देखिने कुरा हुन् ।

हो, चाहनाले मात्र पनि नहुँदो रहेछ । चाहँदैमा पाइने भए त सायद म हरपल तिमीलाई मात्र चाहन्थेँ । मैलेमात्र होइन दुनियाँले त्यसरी नै पूरा होस् भन्ने चाहन्थे नि !

म चाहन्छु– तिमीले पनि मलाई सोध कि तिमी के चाहन्छौ भनेर । सोध बुझ, म भित्र लुकेको दुःखलाई पढ, नितान्त मलाई मात्र पढिदेउ त, कस्तो हुनेरहेछ ? तर, तिमी मलाई किन कहिल्यै सोध्दैनौ, तिमी के चाहन्छौ भनेर । हुन त तिमी व्यस्त छौ । तिमीलाई मेरो यथार्थता सोध्ने अनि गम्भीर भएर बुझ्ने फुर्सद नै छैन र हुन्न पनि । तिमी केही सोध्नै भ्याउँदैनौ, किनकी तिम्रो व्यस्त जीवन, कर्मथलो प्रतिको जिम्मेवारी र कर्तव्यले तिमीलाई गाँजिरहेको हुन्छ । मलाई थाहा छ र पनि म तिमीप्रति यति आशक्ति छु कि सायद मेरो सारा ब्रम्हाण्ड नै तिमी हौ ।

तिमी मलाई सधैं भन्छौ नि ! तिमी के गरे खुशी हुन्छौ भनेर ?’ म चाहन्छु –मैले तिम्रो हर चाहना पूरा गर्न सकूँ । तिम्रा हर सपना साकार पार्न सकूँ । अनि मैले पनि तिमीलाई सोध्न सकूँ कि तिमी के चाहन्छौ भनेर ?, सुन्दा सिनेमाको एउटा ‘संवाद’ झैँ लाग्ने यी वाक्यले मेरो जिन्दगीमा खुशीको आभाष दिलाएको छ तर, तिमी भन्छौ, म तिमीबाट केही चाहँदिनँ ।’

हो, तिमीले भनेजस्तो, चाहे जस्तो र खोेजे जस्तो खुशी सायद मेरो जीवनमा कहिल्यै आउने छैन । जबकी मेरो खुशी भनेकै घर परिवार अनि त्यो भन्दा ठूलोखुशी त तिमी हौ, मात्र तिमी ।

तर म कहिल्यै तिमी के चाहन्छौ भनेर सोध्न सक्दिन । अनि कहिले तिमीलाई खुशी बनाउन पनि सक्दिन । तिमीमा भएको क्षमता, आँट, सहास र लगनशीलताले मलाई धैर्य रहन सिकाउँछ । तिम्रो शालिनता, व्यक्तित्व, वस्तुनिष्ठा अनि विश्वसनीयताले मलाई जीवन जिउन अभिप्रेरित गर्दै अघि बढ्न सिकाइरहन्छ ।

तिमी भन्छौ नि ! तिमीबाट मलाई कुनै आशा छैन । तर म तिम्रो यो जवाफ सुन्न चाहन्न । मलाई तिम्रो यस्तो कुराले दुःख लाग्छ ।’ माया गरेको मान्छेसँग अपेक्षा र आशा राख्न मिल्दैन र ? त्यसो हो भने त मैले पनि तिमीसँग केही भन्नै भएन । आफ्नो पीर मर्का सुनाउनै भएन नि ।

र, पनि म कहिलेकाहीँ घुमाउरो शैलीमा सोध्ने गर्छु, तिमी मसगँ के चाहन्छौ ? मैले के गर्दिए तिम्रो सपना साकार हुन्छ, भनेर । तर तिमी भन्ने गर्छौ । तिम्रो खुसी चाहन्छु ।’ हो मेरो खुसीमा तिमी भौतारिरहेका हुन्छौ । किनकी म खुसी हुँदा तिम्रो चेहरा नै धपक्क बलेको देख्छु । मायाको प्रतिविम्ब त्यहाँ देख्छु । अनि लाग्छ, संसार जित्ने आँट र साहस रहेछ है मसँग ।

अनि म मनमनै सोच्छु, ऊ त मेरै छायाँ हो नि है, ऊ त मसँगै छ नि । तर कहिले काहीं पानीको फोका फुटेझै प्याट्ट फुटिदिन्छ मन । फेरी यो पापी मन ज्वालामुखी झै भैदिन्छ क्या ।

सृष्ठीकालदेखि नै मानिसले चाहना बोकेर आएको हुन्छ, यो जन्मसिद्ध अधिकार जस्तै । चाहना नहुँदो हो त विकास कसरी सम्भव होला र ! विकास र आविष्कारको जननी नै चाहना हो भन्ने मेरो ठम्याइ हो । यदि चाहना नहुँदो हो त आज समाजले भौतिक छलाङ मार्ने थिएन पनि । मेरा पनि चाहनाहरू धेरै छन् । तर पनि मेरो चाहनाको पहिलो अनि अन्तिम तिमी नै हौ । मायामा स्वार्थ हुन्छ भने म स्वार्थी नै सहि, म तिम्रै मायामा हराउन चाहन्छु । मैले अघि नै भनिसके कि मेरो संसार नै तिमी हौ भनेर !

सयम आफ्नै गतिमा गतिशील छ । के वर्षा, के हिँउद । यो प्राकृतिक चक्रीय प्रणाली । बिहानी पखको मन्दमन्द हावाको स्पर्शमा म तिमीलाई खोजि रहेको हुन्थें । मलाई उखरमाउलो गर्मीले पनि त्यो बिहानीको मन्दमन्दा हावाको जस्तै स्पर्शको परिकल्पना गर्दै तिमीभित्रै चुर्लुम्म डुबेको हुन्थे । अनि झल्यास्स हुँदा म त एक्लै, अनि मलाई सताउथ्यो तिम्रा यादहरुले । मनमा तिमी । तनमा तिमी । अनि सम्झनामा तिमी । कति भावनामा डुबेको छु है म । त्यो त मलाई मात्रै न थाहा छ । विचरा तिमी, सायदै के कल्पना गर्न सक्थ्यौ होला र मेरो मनका यी तरङ्गहरुलाई ।

दिनहरु आफ्नै गतिमा वितिरहेका थिए । म भने तिम्रै प्यासमा भौतारिरहेको हुन्थे । मेरो पनि त जिम्मेवारी, दायित्व र कर्तव्य त छ नि । मेरो चाहना परिपूर्तिका खातिर तिमी भुर्र उडेर आउन पनि सक्दैनौ नि ? म यति डुबेको हुन्छु कि जसरी समुन्द्रमा जलचरहरु डुब्छन् र हराउँछन् । मनमा पीर र दिमागमा तनाव हुँदा सहनै सक्दिन । मलाई तिम्रो याद चाहिनेभन्दा बढी आउँछ । म यो चाहन्नँ कि तिमी मेरो सम्झनामा मात्रै सीमित रहु । म चाहन्छु कि, मेरो मनको पीडासँगै तिम्रो भौतिक शरीर पनि मसँगै भैदियोस् । तिमी भन त, यत्ति चाहने अधिकार त छ नि है मलाई ?

याद छ तिमीलाई ? हाम्रो पहिलो भेटमा नै तिमीले मलाई जिन्दगीको अर्थ बुझाएको । त्यही पलबाट हो मैले मेरो सारा दुःखमा तिमी साथै होऊ भन्ने चाहन थालेकी । चाहन त म धेरै कुरा चाहन्छु तिमीसँग । तर मेरो हर चाहना पूरा गर्न सक्छौ र तिमी ?

मेरो हरेक चाहना तिमीसँग पुगेर रोकियोस् । म मेरो सास रहेसम्म तिमीसँग ठोक्किरहन पाउँ । मलाई सम्हाल्ने, मलाई आँखा देखाउने अनि मलाई मृत्युको मुखबाट बचाउने तिमी छौ । मैले साथीको भन्दापनि एउटा अभिभाकत्वको बेस्सरी अनुभूति गर्न पाएकी छु । साथीबाट अभिभाकत्वको सायदै यस्तो अनुभूति कसैले पाउन सक्ला र ? यस अर्थमा म आफुलाई भाग्यमानी नै ठान्दछु ।

म चाहन्छु– भीडभाड, हुलदङ्गा र मेरो हर परिस्थितिमा तिमी मलाई बुझिदेऊ । हर दिन हर समयको प्रवाह नगरी म तिमीसँग हुँन सकूँ । हाम्रा कुरा काट्ने र रिस गर्ने जमातका अगाडी तिम्रा आडमा ठाडो शिरले बोल्न सकूँ । अनि हरेक मिर्मिरे बिहानीको शुभबिहान,गुड् मर्निङ् नमस्ते जस्ता संवादसँगै सुरुहुने त्यो हाम्रो मायाभित्रको झगडामा पनि गहिरो माया झाँङ्गी रहेको अनुभूति गर्छु ।

म यो चाहन्छु कि ! तिमीसँग स–साना कुरामा पनि म निहुँ खोजिरहूँ । मलाई तिमीसँग असाध्यै डर लाग्छ । तर पनि म निहुँ खोज्न छोड्दिन । तिमी मेरो जिस्क्याइ नै बुझ्दैनौ । तिमी मेरो मायाको आभाष नै महसुस गर्न सक्दैनौ । माया गर्छु भनेर मात्रै कहाँ हुँदोरहेछ र ? तिमी मेरो मायाको अर्थ किन बुझ्दैनौ ? या बुझेर पनि नबुझेको स्वाङ पारिरहन्छौ, भन त ? तिमीलाई महशुस हुनुपर्ने हो, म तिमीलाई आफूलाईभन्दा बढी माया र विश्वास गर्छु भनेर । के तिमीलाई यो आभाष हुँदैन र ?

मान्छे साँच्चै असन्तोषी जात । सायद नपाइने कुरा नै चाहिँदो रहेछ मनलाई । जे पूरा गर्नै सकिन्न त्यसमै मन निराश हुँदोरहेछ । एक त म सदाबहार अस्वस्थ मान्छे । जीवन र मृत्युको दोसाँधमा स्वर्गको ढोका कुरेर बसेकी ।

गन्तव्य नै टुटेर आफ्नो मनसँग आफैं हारेकी म ! जिन्दगी अस्तव्यस्त छ भनेर के गुनासो गर्नु र खै ? अब खासै असर गर्न छोडिसके तनाव र कसैका वचनहरुले ।

जन्मदै दुःखी कर्म बोकेर आएकी त्यसमाथि दीर्घरोगी म । एक दिन दुई दिन भए पो घर परिवार, इष्टमित्रले पनि माया गर्नु, हेरविचार गर्नु । विगत दुई दशकदेखिको रोगी । धामीझाँक्री र अस्पताल धाउँदा धाउँदा थाकेर बसेकी म । रोग निको हुन्छ कि भनेर धामीझाँक्रीको सम्म पुगें । धामीझाँक्रीले सन्चो गराउने भए आज यो भौतिक चिकित्सा पद्धतिको के सामथ्र्य हुन्थ्यो होला र ? मुटु, मृगौला, कलेजो र आँखा प्रत्यारोपणले नयाँ जीवन पाएका बिरामीहरुलाई बचाउन ।

रोकेर रोकिने चीज भए पो रोकिन्थ्यो र चाहना ! गलित शरीर त्यसमाथि पटक पटकको सल्यक्रियाले पनि कुनै अर्थ नराखेर अस्तव्यस्त मनसँग रुमलिरहेकी म । जुन दिन तिमीसँग भेट भयो, त्यसै दिनदेखि आफुले आफैंलाई भुलेर जीउने ऊर्जा शक्ति पाएकी थिएँ । शून्य मेरो जीवनमा खुशीपन थप्ने कोही आएपछि म पनि केही गर्छु भन्ने उत्साह त थपियो, तर जिन्दगी कहाँ माया गर्ने मान्छेले गर्दा मात्र चल्दो रहेछ र ?